काठमाडौं, २ साउन (ओएनएस) । भुटानमा जन्मेर नेपाली भूमिमा प्रसिद्धि कमाएका धर्मगुरु श्यामार्पा रिम्पोछेको शव नेपाल ल्याउने विषयमा व्यवस्थापिका संसद्मा आवाज उठेको छ ।
शुक्रवार बसेको व्यवस्थापिका संसदमा सभासदहरुले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरे पनि धर्मगुरुको शव नेपाल ल्याउन सरकारले रोकेको भन्दै विरोध गरेका छन् ।
सभासद गोपाल दहितले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरे पनि धर्मगुरुको शव नेपाल ल्याउन नदिएर धर्म गुरुको अपमान गरेको आरोप लगाए ।
सभासद रामकुमार राईले यसअघिका बौद्ध धार्मिक गुरु रिम्पोछेलाइ ल्याइएको नजिर रहेको उल्लेख गर्दै सरकारले रिम्पोछेको शव ल्याउन प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाए । उनले तिब्बत–चीनमा बिलय हुनु भन्दा पहिले नै नेपाल आएका रिम्पोचेको नेपालप्रति प्रगाढ आस्था रहेको बताए । उनले रिम्पोछेलाई नेपाल ल्याउन कुनैपनि छिमेकी मुलुकलाई कुनै असर नपर्ने उल्लेख गरे । उनले अन्तिम दर्शनकोलागि पनि रिम्पोछेको शव नेपाल ल्याउन सरकारलाई पहल गर्न आग्रह गरे ।
जेठ २८ गते जर्मनीमा हृदयघातका कारण निधन भएका ६१ वर्षीय धर्म गुरु श्यामार्पा रिम्पोछले आफ्नो अन्तिम संस्कार नेपाल मै गर्ने इच्छा देखाएका थिए । तर उनको शव नेपाल ल्याउने विषयमा भने राज्यका अंग बीच पनि मतभेद देखिएको छ । गृहमन्त्रालय र परराष्ट मन्त्रालय धर्म गुरुको शव नेपाल ल्याउन नहुन पक्षमा रहेका छन भने नेपाली सेनाले भने शव नेपाल ल्याउँदा केही फरक नपर्ने पक्षमा देखिएको छ ।
भुटानका प्रधानमन्त्रीले समेत नेपाल सरकारलाई औपचारिक पत्र लेखेर धर्मगुरुको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिदिन नेपाल सरकारसँग आग्रह गरिसकेका छन् । तर गृह मन्त्रालयले भने कानुनी आधार देखाएर शव नेपाल ल्याउन नमल्निे बताएको छ । सरकारले रिम्पोछेको शव नेपाल ल्याउन रोक लगाएपछि नेपाली सेनाले छानविन गरेको थियो । सेनाको छानविन रिपोर्टमा गृहमन्त्रालयले हतारमा निर्णय गरेको उल्लेख छ ।
रिम्पोछेको विषयमा बुझ्न स्थानीय प्रशासनलाई लगाउनुपर्नेमा गृह आफैं सरेर निर्णय गर्दा अहिलेको समस्या देखिएको सेनाले आफ्नो रिपोर्टमा उल्लेख गरेको स्रोतले बतायो । सरकाले भने रिम्पोछेको दलाई लामासँग सम्बन्ध भएको हुन सक्ने भन्दै उनको शव नेपाल ल्याउन रोक लगाएको बताइएको छ । हाल रिम्पोछेको शव भारतमा रहेको छ ।