माघ ८ मा जसरी पनि आउँछ संविधानः मन्त्री रिजाल

285
  •  
  •  
  •  

minendra rijalविराटनगर, २९ मङ्सिर(ओएनएस) :  सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री सुशील कोइरालाको प्रतिबद्धताअनुसार आगामी माघ ८ गते पूर्ण संविधान जारी हुने दावी गरेका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रिजालले माघ ८ मा संविधान ल्याउनका लागि विभिन्न दलसँग दुई पक्षीय एवम् बहुपक्षीय वार्ता तथा सहमतिको प्रयास जारी रहेको बताए ।

उनले आगामी संविधानमा सबै दलको स्वामित्व हुनुपर्ने बताउँदै यसका लागि सरकार संविधानसभाभित्र या बाहिरका दलहरुसँग वार्ता एवम् सहमति कायम गरी संविधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले संविधानसभालाई बहिष्कार गरिरहेका दलहरुले जनताको समर्थन पाउनका लागि संविधान निर्माणमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनले जनताको मतको आधारमा संविधानसभाले संविधान निर्माण गर्ने बताएका छन् ।

पत्रकारहरुको एक प्रश्नको जवाफमा मन्त्री रिजालले सङ्घीय लोकतन्त्र गणतन्त्र पक्षधर एमाओवादी, मधेसी मोर्चा सरकारमा सहभागी भए संविधान जारी गर्न सहज एवम् उनीहरूको स्वामित्व पनि हुने बताए ।

उनले माघ ८ गते संविधान जारी गरेपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन हुने जानकारीसमेत दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री डा. रिजालले नेपाली काँग्रेसको उच्च निकाय, निर्वाचन घोषणापत्रअनुसार आगामी संविधानमा धर्मनिरपेक्षता हुने बताए ।


  •  
  •  
  •