ग्राण्डी बच्चा उपचार प्रकरण : ३५ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

122
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नवजात शिशु ‘रिहान’ को उपचारमा लापरवाही गरेको अदालतले ठहर गरेको छ ।

उच्च अदालत पाटनले दुई वर्षपछि सन्जीवचन्द्र न्यौपानेले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीस सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला  गरेको हाे ।

२७ फागुन २०७६ मा सन्जीवले छोरा रिहानको उपचारमा संलग्न चिकित्सक, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र मेडिकल काउन्सिलविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थिए ।

रिहानका बुवा सन्जीव र आमा एकता घिमिरे सुरुमा ग्राण्डीले रिहानको उपचार लापरवाही गरेको भन्दै मेडिकल काउन्सिलमा पुगेका थिए । काउन्सिलले घटनामाथि अनुसन्धान गर्दै उपचारमा संलग्न चिकित्सकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उपचारकै क्रममा रिहानमा ब्याक्टेरियाको गम्भीर संक्रमण देखिएको थियो । अस्पतालले रिहानको टाउकोको ५ पटक शल्यक्रिया गरिएको थियो । सो क्रममा शिशुलाई झण्डै १० महिना अस्पतालमा राखेर उपचार गरिएको थियो ।

उपचारका क्रममा बालकमा अस्पतालजन्य संक्रमण फैलिएको र बढी डोजको औषधि दिइएको काउन्सिलको छानबिनका क्रममा देखिएको थियो। अस्पतालजन्य संक्रमणका कारण बालकको मस्तिष्कको एउटा भाग अविकसित हुन पुगेको थियो। जसका कारण अस्पतालले बालकको पाँच पटकसम्म शल्यक्रिया गरेको र बढी डोजको पारासिटामोल समेत दिएको छानबिनका क्रममा भेटिएको थियो।

यसका साथै समयमै सिटी स्क्यान वा एमआरआई नगरेको, शिशुको मस्तिष्कको भेन्ट्रिकल (पानी रहने ठाउँ) र सिस्टको आकारबारे उपचारमा संलग्न न्यूरो सर्जन र रेडियोलोजिष्टबीच बुझाइको अभाव देखिएको, चिकित्सकको राय विपरीत नवजात शिशुलाई आईसीयूमा राख्न अस्पताल प्रशासनले नै लिखित निर्देशन दिएको लगायतका त्रुटि गरिएको काउन्सिलको छानबिनका क्रममा भेटिएको थियो।

काउन्सिलले छानबिनका क्रममा उपचारमा त्रुटि भएको फेला पारे पनि सजाय भने निकै कमजोर गर्ने निर्णय गरेको थियो। काउन्सिलले स्पष्टीकरण मात्र सोधेर उन्मुक्ति दिने निर्णय गरेपछि न्यौपानेले त्यसको विरोधमा अदालतमा जाने निर्णय गरेका हुन्।

काउन्सिलको निर्णयमा चित्त नबुझेपछि उनीहरुले पाटनमा पुनरावेदन दिएका हुन्। पुनरावेदनमा उनीहरुले उपचारका क्रममा भएको लापरबाहीका कारण आफ्नो बच्चाको स्वास्थ्य कहिले पनि निको नहुने गरी बिग्रिएकाले उपचारमा संलग्नलाई सपष्टीकरण मात्र सोध्नु न्यायसंगत नहुने भन्दै उपचारमा संलग्नहरुको लाइसेन्स खराजे गर्नुपर्ने माग राखेका थिए।

त्यस्तै आफूलाई अस्पतालले २ करोड सम्मको क्षतिपूर्ति दिनुपर्ने पनि माग राखेका थिए। सोही आधारमा अदालतले काउन्सिलको निर्णयलाई सदर गर्दै क्षतिपूर्ति भराउने फैसला गरेको हो। रिहानको स्वास्थ्य अहिले पनि सुधारोन्मुख छैन। उनी यही असारमा ४ वर्ष पुग्दैछन् ।

यो पनि हेर्नुहोस्

ग्रान्डी बच्चा उपचार प्रकरण : यस्तो छ वास्तविकता

ग्रान्डी बच्चा उपचार प्रकरण : अस्पतालले गम्भीर त्रुटि गरेको ठहर

 


  •  
  •  
  •