छिटो धनी बन्‍न खोज्दा ठगिन्छन् सर्वसाधारण

318
  •  
  •  
  •  

काठमाडौं २० चैत ।

राजधानीमा भएका पछिल्ला ठगीका केही घटनामा पीडित र पीडक एउटै उद्देश्यबाट उत्प्रेरित भएको प्रहरी अनुसन्धानले देखाएको छ। ठगीका घटनामा पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाले यो सातामात्रै तीनवटा ठगीका घटनामा ६ जना अभियुक्त पक्राउ गर्‍यो।अनुसन्धानले घटनाको सुरुआत सर्वसाधारणमा कसरी छिट्टै धेरै पैसा कमाउने र ठगले कसरी छिटो धनी बन्ने भन्ने उद्देश्यमा घटना भएको देखाएको छ।
ठगले विभिन्न बहानामा सर्वसाधारणलाई पैसा कमाउने आश्वासन बाँड्छ र सर्वसाधारणले पनि हचुवाका भरमा एक पटक पनि सोचविचार नगरी ठगको भरोसा गर्छन्।
लमजुङकी विनिता परियार पोखराबाट काठमाडौं आउँदै गर्दा एक ठग दम्पतीको फन्दामा परिन्। उनी काठमाडौं आउँदै गर्दा माइक्रोबसमा ललितपुर लामाटारका रामबहादुर भुजेल र धनमायासँग भेट भयो। भुजेल दम्पतीले विनितालाई बहिनीको साइनो पनि लाउन भ्याए।
घर, जग्गा, धनसम्पत्तिको पनि चर्चा चल्यो। धनमायाले आफूसँग सुनको टुक्रा भएको र बिक्री गर्न खोजेको बताएपछि विनिता पनि हौसिइन्। ‘सस्तोमा दिने भए मै लिन्छु’ भनेपछि भुजेल दम्पतीलाई खोजेको जस्तै भेटियो।
विनितालाई गत फागुन २७ गते कलंकी बोलाएर रुमालमा सुनको टुक्रा छ भन्दै हातमा थमाएर १५ लाख रुपैयाँ लिई फरार भए भुजेल दम्पती।
प्रहरीमा २८ गते उजुरी दिन पुगेकी विनिताले सुरुमा जग्गा हेर्न जाँदा ‘ तिमीसँग कति पैसा छ’ भनेर सोधेको र पैसा देखाउँदा लिएर फरार भएको बताएकी थिइन्। अपराध महाशाखाले चैत ११ गते भुजेल दम्पतीलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा पो सुन किन्ने बहानामा विनिता ठगिएको रहस्य खुल्यो।

सर्वसाधारणमा कसरी छिट्टै धेरै पैसा कमाउने र ठगले कसरी छिटो धनी बन्ने भन्ने उद्देश्यमा घटना भएको देखाएको छ। ठगले विभिन्न बहानामा सर्वसाधारणलाई पैसा कमाउने आश्वासन बाँड्छ र सर्वसाधारणले पनि हचुवाका भरमा एक पटक पनि सोचविचार नगरी ठगको भरोसा गर्छन्।
ठगीको अर्को घटना झन् रोचक छ। सस्तोमा डलर साट्ने प्रलोभनमा धादिङ भूमिस्थानका निराजन भुजेलले मकवानपुर बज्रबाराहीकी रूपा केसी र धादिङ थाक्रेका सुरेश भुजेललाई दुई लाख रुपैयाँ दिए।
खासामा लेबरको काम गर्दा डलर ल्याएको र त्यसलाई बजार रेटभन्दा सस्तोमा साटिदिने बहानामा निराजनबाट दुई लाख लिएर कागजको टुक्रा दिएर रूपा र सुरेशले ठगी गरेका थिए।
सुरुमा डलरको भाउ थाहा नभएजसरी सुरेश र रूपाले निराजनसमक्ष नाटक गरे। निराजनले पनि छिट्टै धेरै पैसा कमाउने आशमा दुई लाख रुपैयाँ दिए।
पैसाकै आकार मिलाएर कटिङ गरिएको बन्डलमा एक दुई तह डलर नै भए पनि भित्र कागजमात्रै रहेको निराजनले त्यतिबेला मात्रै थाहा पाए, जब रूपा र सुरेश पैसा लिए फरार भइसकेका थिए।
निराजनजस्तै गुल्मी रेसुंगाका चन्द्रमणि पाण्डे पनि अपराधको एउटै कार्यविधिमा ठगिएका छन्। तम्घासमा होटेल सञ्चालन गरी बस्दै आएका पाण्डेलाई सिन्धुपाल्चोक बाह्रबिसेका छिरिङदोर्जे लामा र गुल्मीका सुकमान गुरुङले सस्तोमा डलर साटिदिने भन्दै नौ लाख रुपैयाँ ठगी गरेका हुन्।
डलर साट्ने बहानामै नौ लाख रुपैयाँ बोकी चन्द्रमणि गुल्मीबाट काठमाडौं आएका थिए। चक्रपथमा आएपछि गुरुङले डलर भन्दै रुमालमा पोको पारेको कागजको टुक्रा चन्द्रमणिका हातमा थमाएर नौ लाख लिएर टाप कसे।
बाटोमा खुल्दुली लाखेर खोली हेर्दा कागजको टुक्रा मात्रै देखेपछि चन्द्रमणि झल्याँस्य भए। भक्तपुरमा लुकेर बसेका गुरुङलाई चैत ११ गते महाशाखाले पक्राउ गर्‍यो।
महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले पीडित र पीडक छिट्टै धनी बन्ने बहानामा ठगीका घटना हुने गरेको बताए।
उनले भने, ‘ठग्न कति सजिलो उपाय अपनाएका छन्। तर ठगिने व्यक्ति जसलाई हामी पीडित भन्छौं, उनीहरू पनि फाइदा खोज्दै जाँदा ठगिएका छन्।’
केही घटनामा ठगले पीडितलाई विश्वासमा पार्न दुई/चार हजार खर्च गरेको पनि पाइएको कार्कीले बताए। अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •