भूकम्पपीडित भोकै, चामल कुहाएर नष्ट

294
  •  
  •  
  •  

काठमाडौं १३ पुस ।
सिन्धुलीका भूकम्पपीडितले दैनिक एक छाक खाने अन्न पनि नभएको गुनासो गरिरहेका बेला प्रशासनले भने एक सय २० क्विन्टल चामल कुहाएर नष्ट गरेको छ।

भूकम्पपीडितका लागि विभिन्न सहयोगी निकायबाट प्राप्त चामल समयमा वितरण नगर्दा कुहिएपछि जलाएर नष्ट गर्नुपरेको हो।जिल्ला दैवी प्रकोप उद्धार समितिले भण्डारण गरेर सभागृह हलमा राखेको ३० केजी दरका चार सयभन्दा बढी बोरा चामल कुहिएर कामै नलाग्ने भएपछि रातारात जलाएर नष्ट गरिएको थियो।

स्थानीय राजनीतिक दल तथा जिविस र उद्धार समितिको लापरबाहीले गर्दा आफूहरू भोकभोकै बस्नुपरेका बेला जिल्लामा आएको चामल नष्ट गरिएको पीडितको आरोप छ।वैशाख १२ गतेको भूकम्पपछि वर्षात्को समयलाई लक्षित गरेर चामल भण्डारण गरेको भए पनि उचित व्यवस्थापन गर्न नसक्दा कुहिएको भूकम्पपीडित रामेश्वर खड्काले बताए।

‘राजनीतिक दल र जिल्ला प्रशासनले पनि बेवास्ता गरेका कारण सयौं बोरा चामल खाडलमा हालिएको छ, यो गम्भीर त्रुटि हो,’ उनले भने। जिल्लाको बोसेश्वर, झाँगाझोली, रातमाटा, पुरानो झाँगाझोली, कुशेश्वर, दुम्जा, क्यानेश्वर, हरिहरपुरगढीलगायतका गाविसका भूकम्पपीडित खाद्यान्न अभावमा भोकभोकै बस्न बाध्य छन्।

‘पीडितका लागि आएको चामल जिल्लामा बस्नेहरूले चरम लापरबाही गर्दा कुहिएर नष्ट भएको सुनियो’, हरिहरपुरगढीका भूकम्पपीडित रामकुमार मगरले भने, ‘हामीलाई गाउँमा खाद्यान्न अभाव छ, चामलको व्यवस्था गरिदिनुपर्‍यो भनेर पटकपटक अनरोध गर्‍यौं तर कसैले सुनेन। भएको चामल खाडलमा हालेको सुनियो, यहाँ हामी भोकभोकै छौं।’

अधिकारकर्मी बिरु लामाले विभिन्न निकायले दिएको चामल पीडितलाई वितरण गर्नुपर्नेमा कुहाएर खाल्डोमा हाल्नु गम्भीर त्रुटि भएको बताए। उनले भने, ‘भूकम्पपीडित भोकभोकै भएका बेला पीडितलाई समयमा वितरण गर्नुपर्ने चामल सडेर गएको छ। यसको जिम्मेवारी जिल्लाका राजनीतिक दल र उद्धार समितिले लिनुपर्छ।’

राहात वितरण समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बासु काफ्लेले भण्डारण गरेको सबै चामल नकुहिएको दाबी गर्दै थोरै परिमाणको चामल कुहिएको स्वीकार गरे। उनले भने, ‘केही चामल कुहिएको छ । केही भने वितरण गरिएको छ। असारमै वितरण गर्नुपर्ने चामल विविध कारणले वितरण गर्न नसक्दा यस्तो अवस्था आएको हो।’
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •