पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित लालीगुराँस यात्रा सम्पन्न

209
  •  
  •  
  •  

rhododendronललितपुर, १४ चैत(ओएनएस) : पर्वतीय पर्यटन विकास सहकारी संस्था लि. को आयोजनामा आज ललितपुरमा आन्तरिक पर्यटन प्रवर्धनका उद्देश्यले लालीगुराँस यात्रा गरिएको छ ।

यात्रा देवीचौरको सुन्तोलीडाँडाबाट शुरु गरिएको पदयात्रा, स्वर्गद्वारी मन्दिर, दुधेश्वरी मन्दिर हुँदै भट्टेडाँडाको तीनपाने भञ्ज्याङमा पुगेर टुङ्गिएको थियो ।

लगनखेलबाट बिहान बसबाट देवीचौर पुगेपछि त्यहाँबाट पैदलयात्रा गरिएको र तीनपाने भञ्ज्याङबाट पुनः बस चढेरै लगनखेल आइएको सहकारीका अध्यक्ष गोपाल सञ्जेलले बताए ।

पाँच घण्टा लामो पदयात्रामा दुई जना बाह्य पर्यटकसहित ३२ जना पर्यटकको सहभागिता रहेको लालीगुराँस यात्रा कार्यक्रमका संयोजक रमेशप्रसाद तिमल्सिननाले जानकारी दिएका छन् । पदयात्रामा पत्रकार, प्राध्यापक, सहकारीकर्मी, विद्यार्थी, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

दुई वर्षअघि पर्यटनको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले गठन गरिएको सहकारी संस्थाले ललितपुरका पर्यटकीय क्षेत्रको पहिचान गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको सहकारीले जनाएको छ ।

देवीचौरस्थित स्वर्गद्वारी मन्दिर परिसरमा स्थानीयहरुले खैंजेडी भजनले स्वागत गर्दै देबीचौरको पर्यटनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्ला वन कार्यालय, ललितपुर, ललितपुर मिनीबस व्यवसायी समिति, सुन्तोली डाँडा सामुदायिक वन उपभोक्ता समूह, भट्टेडाँडा कृषि सहकारी संस्था लि. र सातकन्या महिला विकास सहकारी संस्था लि.को सहयोग रहेको सहकारीकी सदस्य सुमित्रा घिमिरेले बताईन् ।


  •  
  •  
  •