भारतीय राजदूतद्वारा नेता नेपालसँग भेट

156
  •  
  •  
  •  

काठमाडौं, ५ भदौं (ओएनएस) : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भेट गरी पछिल्लो राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धका विषयमा कुराकानी गरेका छन् । नेता नेपालको निवास कोटेश्वरमा बिहीबार बिहान भएको भेटमा उनीहरुबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, संविधानका अन्तरवस्तुमा सहमति कायम गर्न दलहरबीच जारी प्रयत्न तथा नेपाल–भारत सम्बन्धका विविध विषयमा समेत कुराकानी भएको छ ।

कुराकानीको आरम्भमा उनीहरुबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको नेपाल भ्रमण सकारात्मक भएको र भ्रमणको क्रममा देखिएको उत्साहलाई मूर्त र स्थायी बनाउन सम्बन्धित विषयहरुमा व्यवस्थित योजना सहित कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी भयो । नेपालको हित एवम् द्विपक्षीय सम्बन्धलाई समेत ध्यानमा राख्दै जलस्रोत तथा उर्जा सम्बन्धी आवश्यक तयारीका सहित आगामी भ्रमणलाई थप उपलब्धिमूलक बनाउने विषयमा पनि उनीहरुबीच कुराकानी भयो । भेटमा भारतीय राजदूतले दलहरुबीच संविधान निर्माणका विषयमा पछिल्लो समयमा भैरहेका सहमति प्रयास र समयमै संविधान जारी हुने वा नहुने संभावनाका विषयमा समेत जिज्ञासा राखेका थिए ।


  •  
  •  
  •