अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पुरा

155
  •  
  •  
  •  

काठमाडौं, १९ चैत । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले चैत २० गतेबाट राजधानीमा गर्ने भनेको २० औं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले यही चैत २० गते त्रि.वि. स्मृति भवनमा उद्घाटन हुने सम्मेलनको तयारी पुरा भएको संगठनका महासचिव रत्न ढकालले जानकारी दिएका हुन् । उनले सम्मेलनको बन्दसत्र चैत्र २१ र २२ गते किर्तिपुरस्थित् ल्याब्रेटोरी विद्यालयमा हुने र चैत्र २३ गते सम्मेलनको समापन हुने बताए ।

ढकालले नेपालको कम्यूनिष्ट आन्दोलनमा देखिएको विद्यमान विभाजन र टुटफुटलाई केन्द्रविन्दुमा राखेर आफ्नो संगठनले राष्ट्रिय सम्मेलनको आयोजना गरेको बताए । उनले भने,‘विद्यार्थी आन्दोनलमा नै विभाजन भैरहेको समयमा सम्मेलन गर्नु आँफैमा चुनौती हो, तर यो सम्मेलनले शिक्षा क्षेत्रमा देखिएको अराजकतालाई चिर्ने विश्वास हाम्रो संगठनले लिएको छ ।’

पार्टीका अध्यक्ष मोहन बैद्यले उद्घाटन गर्ने उक्त सम्मेलनमा देशभरिका विभिन्न विश्वविद्यालयबाट करिब ७ सय ५० प्रतिनिधिहरुको सहभागिता रहने पनि संगठनका कार्यवाहक अध्यक्ष सुरेश गौतमले बताए ।

महासचिव ढकालका अनुसार सम्मेलनमा विद्यार्थी आन्दोलनलाई अझ सशक्त, जुझारु र प्रतिरोधात्मक ढंगले अगाडि बढाउनेवारेमा व्यापक छलफल हुने, निजी क्षेत्रबाट सञ्चालित विभिन्न उमावि र उच्च शिक्षाको अध्ययन हुने शैक्षिक संगठनमा वृद्धि भएको विद्यार्थीको घनत्वलाई मध्यनजर गर्दै त्यसतर्फसमेत विचार विमर्श गर्ने लगायतका विषयका बारेमा छलफल हुनेछ ।

संगठनले वर्तमान राजनीतिक संक्रमणलाई अन्त्य गर्ने, राष्ट्रिय स्वाधिनता र जन अधिकारलाई सुनिश्चित गर्नेगरि राष्ट्रिय सहमतिका साथ संविधान निर्माण गर्ने र पश्चगामी संविधानसभाको विघटनलाई बल पुग्ने सबै आन्दोलनमा सहयोग गर्ने लगायतका विषयलाई समेत सम्मेलनमा जोडदार रुपमा उठाउने जनाएको छ ।


  •  
  •  
  •