काठमाडौं २७ भदौ ।
पहिचान स्वीकार नगरेको भन्दै पहिलो संविधानसभा विघटन भएसँगै तत्कालिन उपाध्यक्ष अशोककुमार राईको नेतृत्वमा एमालेका जनजाति नेताहरुले लामो बहस सुरु गरे ।
लामो बहस, छलफल र वार्तापछि राईको नेतृत्वमा संघीय समाजवादी पार्टी गठन भयो । पृथ्वीसुब्बा गुरुङलाई पार्टी बनाउने एकजना परिकल्पनाकारको रुपमा लिइन्थ्यो । तर, उपाध्यक्ष राईसहित विजय सुब्बा, रिजवान अन्सारी, अजम्बर काङबाङ, रकम चेम्जोङ नयाँ पार्टीमा समाहित भए पनि गुरुङ गएनन् ।
उनीमाथि आरोप लाग्यो- एमालेमा जनजातिको ठूलो नेता हुन अरुलाई पठायो भनेर । तिनै पृथ्वीसुब्बा गुरुङ अहिले एमालेमै खुरुखुरु संघीय समाजवादी पार्टीका नेताहरु भित्र्याइरहेका छन् ।
दुई साताअघि बरिष्ठ उपाध्यक्ष विजय सुब्बालाई बल्खुमा स्वागत गरेका गुरुङ बिहीबार मीनभवनस्थित कमर्स क्याम्पसमा तीन दर्जन विद्यार्थी नेतालाई टिका लगाएर स्वागत गरे ।
संघीय समाजवादी पार्टीको भ्रातृ संगठन ‘अग्रगामी विद्यार्थी युनियन’का अध्यक्ष शैलेश लामा, महासचिव, सचिवलगायतका बहुसंख्यक पदाधिकारी र सदस्यलाई भित्र्याउँदा पृथ्वीसुब्बा गुरुङ दुई वर्षअघि फर्किए ।
‘अशोक राईलाई पठाएर एमालेमा ठूलो मान्छे हुन खोज्यो भनेर केही साथीहरुबाट गाइँगुइँ सुन्छु,’ नवौं महाधिवेशनपछि सचिवमा निर्वाचित भएका गुरुङले भने, ‘भन्नेले भन्दैगर्छन् म आफ्नो काम गरिरहन्छु ।’
गुरुङले जातीय पार्टी खोल्ने उद्देश्यले आफूले एमालेमा बहस सुरु नगरेको दाबी गरे । ‘एमालेमा धेरै गुट, उपगुट छन् । एउटा जनजातिको पनि समूह बनाऊँ भनेर धुलिखेलमा छलफल भएको थियो । हाम्रो समूहलाई अग्रगामी समूह भन्नेसम्मको कुरा थियो,’ उनले भने, ‘पछि एक जना साथीले अग्रगामी विचार समूह बन्यो भनेर प्रचार गर्नुभयो । सवैले त्यहि भन्ने थाले । त्यसको बैठक बस्न थाल्यो ।’
गुरुङले विचार समूह हुँदासम्म आफू क्रियाशील रहे पनि पार्टी बनाउने निष्कर्षमा पुगेपछि समूह त्यागेको बताए । ‘विचार समूहसम्म ठीकै थियो । एकदिन अशोक राईजीको घरमा साथीहरुले एकाएक पार्टी बनाउने कुरा गर्नुभयो । त्यो पनि जातीय पार्टी,’ उनले स्मरण गरे, ‘त्यस दिनदेखि म जान छाडें । साथीहरुले गद्दार भन्न थाले ।’
गुरुङले एमाले, एमाओवादी र जनजाति महासंघका अगुवाहरुले आफ्नो नेतृत्वमा पार्टी बनाउने पटक पटक प्रयत्न गरेको उल्लेख गरे । ‘पहिलो संविधानसभाको अन्तिमअन्तिम तिर काठमाडौंमा २३ हजार जनजाति भेला भए । वत्ता मलाईमात्र बनाइएको थियो । कारण के रहेछ भने पृथ्वीसुब्बाले त्यहिंबाट जातीय पार्टी घोषणा गरोस् भन्ने,’ उनको भनाइ थियो, ‘मैले त उल्टै जातीय पार्टी काम लाग्दैन भनेर भाषण गरेँ ।’
गुरुङले काजीमान कन्दङ्वा, एमएस थापा, गोरेबहादुर खपाङ्गीसम्मले जातीय पार्टी बनाए पनि नेपालमा जातीय पार्टी नटिक्ने दाबी गरे । ‘मैले त्यो बेला पनि त्यहि भनेँ । कम्युनिष्ट विचार राख्ने हो भने एमाले छ । पुँजीवादी विचार राख्ने हो भने कांग्रेस छ । नयाँ पार्टी किन चाहियो ?,’ उनले भने, ‘तर साथीहरु मानेनन् ।’
गुरुङले ‘एमालेका केही नेताहरुलाई देखाउन’ र आर्थिक चलखेलले पनि जातीय पार्टीको मुद्दा चर्काएको आशंका गरे । ‘केही साथीहरु बल्खुका ८-१० जनालाई देखाइन्छ भन्नुहुन्थ्यो । आज उहाँहरुले के देखिरहनुभएको छ थाहा छैन । पासाङ शेर्पाजीले त पैसाको कुरा पनि उठाउनुभएको थियो,’ उनले भने, ‘एमालेलाई ध्वस्त पार्ने माओवादीको चाहनालाई साथीहरुले सघाउनुभयो ।’
गुरुङले ३८ प्रतिशत जनजाति भए पनि नेपालमा जातीय पार्टी कुनै हालतमा टिक्न नसक्ने जिकिर गरे ।
कान्तिपुरबाट