११ बर्षपछि आमाको काखमा सावित्रा

228
  •  
  •  
  •  

काठमाडौं २२ कात्तिक ।
करिव एघार वर्षअघि घरैवाट बेपत्ता छोरी सावित्रा (३०) सँगको अकल्पनीय भेटले उनका आँखामा आँसु छचल्किएको थियो । ‘माया मारिसकेकी थिएँ’, रुप्से ४ पाल्पाकी भगवती पाण्डेले तपक्क आँशू चुहाउदै भनिन्,’यो खुसीको आँशु हो । ज्यूँदै फर्किएली भन्ने सयमा एक मन पनि थिएन । दैवले फर्काइदियो ।’

२०६० सालतिर सावित्रा राजकुमारी नाम गरेकी एक अपरिचित महिलाले उनलाई विदेशमा मनग्य पैसा कमाउन सकिन्छ भनेर फकाइन् ।

गरिबीले गाँजेको जीवन सुधार्ने आशमा सावित्रा लहैलहैमा दिल्ली पुगिन् । उनी दिल्ली पुगेको घरमा कसैलाई थाहै थिएन् । दिल्लीमा केही दिन बिताएपछि मुम्बई हुँदै खाडी मुलुक साउदी अरब उडिन् । ‘साथमा एक रुपैयाँ थिएन’, उनी सम्झन्छिन्, ‘कसरी साउदी पुगियो अचम्म लागेको छ ।’

महिला कामदारलाई खाडी पठाउने दलालले राहदानी बनाएर उनलाई साउदी पुर्‍याएका थिए । दलालले आफ्नै खर्चमा पठाएको कामदारले काम सुरु गरेपछि पैसा असूल्ने गरेका छन् ।

साउदीमा घरेलु कामदारको रुपमा कार्यरत सावित्राले घर मालिकवाट धेरै यातना सहनु पर्यो । यहासम्म कि उनलाई घरमा फोन गर्न पनि वन्देज गरियो । ‘दैलो थुनेर काममा मात्रै जोत्थे’, उनले विलौना गरिन्,’अधिकांश समय घर परिवार सम्भिmएर रोएर कटाएँ ।’

पैसा कमाउने लालसाले खाडीको नर्कमा भासिएका धेरै नेपाली महिलाको हालत दयनीय रहेको उनले सुनाइन् । लामो समय घर मालिकको यातना सहेर विक्षिप्त वनेकी उनी २०६९ भदौ २५ मा नेपाल फिरिन् । तर, उनीसँग आफ्नो नाम र घर बताउन सक्ने ल्याकत नै थिएन ।

काठमाडौ प्रहरीले त्रिभुवन विमानस्थलवाट उद्धार गरी माइती नेपालको केन्द्रीय कार्यालयमा जिम्मा लगायो ।

केन्द्रले मानसिक रोग उपचारका लागि पूर्वाञ्चल कार्यालय रेफर गर्यो । विगत ६ महिनादेखि माइती नेपालको पुर्नस्थापना केन्द्रमा उपचाररत सावित्राले केही दिन अघि आफ्नाबारे सुनाइन् । आफ्नो घर र आमावुवा सम्झिइन् ।

‘उपचारमा ल्याउदा बोल्न र मान्छे चिन्न सक्ने अवस्था थिएन’, माइती नेपालका पूर्वाञ्चल निर्देशक गोविन्द घिमिरेले भने,’उपचार पछि घर ठेगाना बताउन सकिन् ।’

सावित्राकै भनाईका आधारमा माइती नेपालले अभिभावकलाई खवर गर्यो । र बिहीवार प्रहरी रोहवरमा जिम्मा लगायो । माइती नेपालले वितेका ९ महिनामा वेचिएका २७ महिलाको उद्दार गरी अभिभावकको जिम्मा लगाएको छ । त्यस्तै १७ हजार ९ सय ६७ लाई सीमावाट फर्काएको छ । कान्तिपुरबाट


  •  
  •  
  •