‘बेपत्ता’ १६ वर्षपछि फर्के

156
  •  
  •  
  •  

 मुलुकमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएको भन्दै परिवार हदैसम्म पिरोलिएका थिए । परिवारको मुख्य सदस्य गुमाउनुपर्दाका सबै पीडा झेले । कावासोती नगरपालिका (त्यसबेला गाविस) १ का रामप्रसाद भनिने रामलाल भट्टराई बेपत्ता पारिएको खबर जिल्लाभर फैलियो । उनकी पत्नी तुलसालाई भेट्न रेडक्रस अन्तर्राष्ट्रिय समितिका प्रतिनिधि घरमै ४/५ पटक आए । अरू मानव अधिकारकर्मी पनि धाए ।

सुरुमा रेडक्रसका मान्छेलाई बेवास्ता गरिन् । कुरा बुझेपछि बेपत्ताको सूचीमा न्ााम लेखाउन तयार भइन् । आफूले पनि पतिको खोजीमा सघाउन थालिन् । केही पत्तो लागेन । परिवार र आफन्त निराश बने । तुलसा बेपत्ता परिवार राष्ट्रिय समाजको केन्द्रीय कोषाध्यक्ष र जिल्ला उपाध्यक्ष बनिन् । बेपत्ताका परिवारको सूचीमा परेकाले उनले राज्यबाट ३ लाख २५ हजार नगद राहत लिएको जनाइन् ।

नवलपरासीबाट द्वन्द्वकालमा बेपत्ता पारिएका १४ मध्ये रामलालको नाम १२ औं नम्बरमा छ । तिनै व्यक्ति कात्तिक २० गते बिहीबार बिहान ४ बजे घर आइपुगे । पूर्वपश्चिम राजमार्गस्थित कावासोती थानामा झर्दा ठूला पक्की घर देखेर दंग परे । उनी आफ्नो घरतर्फ लागे । झुक्किएर घर छाडेर टाढा पुगेछन् । उनी ‘बेपत्ता’ भएको १६ वर्षपछि फर्किएका थिए ।

उनी ०५५ मा पोखराको चिप्लेढुंगामा सामान्य तरकारी पसल गर्थे । त्यसबेला उनका साथीले ‘तँलाई माओवादी भएको आरोपमा प्रहरीले खोजी गरेको छ’ भन्ने सुनाएपछि २५ वषर्ीय रामलाल बेखबर भए ।

उनी ०५५ कात्तिक ३ गते कावासोतीस्थित घर आए । फेरि कसैले पत्तो नपाउने गरी बिहान ४ बजे घर आएका उनी १ घन्टापछि रूपन्देहीको सुनौली नाका हुँदै दिल्लीको नजबगढ पुगे । ‘दिल्ली पुगेर होटलमा काम गरें, तरकारी पसल खोलें ।

कोठा भाडामा लिएर बसें,’ उनले भने, ‘१६ वर्ष १७ दिनसम्म हन्डर खाइयो ।’ ०४७ मा अरुणखोलाकी तुलसी भण्डारीसँग विवाहबन्धनमा बाँधिएका

भट्टराई घर छाड्दा जेठा छोरा अमृत ७ वर्षका थिए, कान्छा अशोक ५ वर्षका ।

सबैले ठाने- द्वन्द्वपीडित भए । बेपत्ता पारिए । तुलसाले दुःख खेपिरहिन् । दुई छोराको लालनपालनमा कष्ट बेहोरिन् । श्रीमान्ले न कहिल्यै फोन गरे, न त चिठीपत्र नै पठाए । ‘छिमेकीसँग सोधेर घर पत्ता लगाएँ,’ रामलालले भने, ‘के-के भयो जिन्दगीमा ।’

उनी फर्किएपछि तुलसा भने हषिर्त भइन् । ‘आउनुहोलाजस्तो त लागेको थियो,’ उनले भनिन्, ‘अन्य जिल्लामा १५/१६ वर्षपछि घर फर्केको समाचार सुन्दा कतैकतै आस थियो ।’ उनका जेठा छोरा स्नातक पढदै छन् । कान्छाले १२ कक्षा पास गरेका छन् ।

‘अब त घरमै बस्छु,’ रामलालले सुनाए । उनका बाबु भविलाल गत असारमा बिते । घर पुगेकै दिनदेखि उनी बाबुको किरियामा बसेका छन् । कान्तिपुरबाट


  •  
  •  
  •