‘विप्लव’ समूहका स्थायी समिति सदस्य ओलीलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट दर्ता

590
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेकपा’का स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई थुनामुक्त गर्न रिट दर्ता भएको छ ।

ओलीका छोरी विपना ओलीले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् ।
हेमन्त ओली, लोकेन्द्र खड्का र विपना ओलीको नाममा सर्वोच्चमा दर्ता रिटमा पक्राउ गरेकालाई निःशर्त अदालतमा उपस्थित गराई रिहाइको लागि आदेश जारी गर्न आग्रह गरिएको छ ।

ओलीले बुबा हेमन्त प्रकाश र दाइ लोकेन्द्र खड्कालाई सरकारले गैरकानूनी रुपमा थुनामा राखेको दाबी गरेकी छन् ।
कानून व्यवसायीहरु वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, राजु अधिकारी र कान्तीराम ढुंगानाको सहयोगमा मुद्दा दर्ता गरेको उनले बताएकी छन् ।

मुद्दामा गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाग ललितपुर, प्रभाग प्रमुख, जिल्ला प्रहरी कार्यालय काभ्रे, जिप्रका काभ्रेका प्रमुख, ललितपुर जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।

ओली र खड्कालाई यही चैत ९ गते काभ्रेमा पार्टीको कार्यक्रममा सहभागी भई काठमाडांै फर्किने क्रममा सादा पोसाकका प्रहरीले पक्राउ गरेको थियो । आफ्ना बुबा हेमन्त सुगर र प्रेसरको रोगी भएकाले नियमित औषधि सेवन गरिरहनुपर्ने दाबी गर्दै अदालतमा झिकाई तुरुन्त रिहा गर्न आदेश जारी गर्न माग गरिएको छ ।

हेमन्त रुकुम त्रिवेणी गाउँपालिका ६ का स्थायी बासिन्दा हुन् भने खड्का सोही गाउँपालिका वडा नं. ८ का स्थायी बासिन्दा हुन् ।

रिटमा नेपालको संविधानको धारा ४६, धारा १३३ (३), सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३३, नियम ३७ बमोजिम आदेश जारीको लागि माग गरिएको छ ।


  •  
  •  
  •