रेशम चौधरीको सांसद पद खारेज हुने

542
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : रेशम चौधरीको सांसद पद खारेज हुने भएको छ ।
कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले बुधबार उनलाई आजिवन जेल सजायको फैसला सुनाएको छ ।

सो फैसलासँग चौधरीको सांसद पद स्वतः खारेज हुने भएको हो । फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने संविधानमा व्यवस्था छ ।

संविधानको धारा ८७ ले सांसद हुने योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको’ व्यक्ति हुनु पर्ने उल्लेख छ ।

संविधानको धारा ८९ मा ‘धारा ८७ बमोजिम योयता नभएमा वा नरहेमा’ संघीय संसदको सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । त्यसैले अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीको सांसद पद गुम्ने भएको हो ।

बुधबार जिल्ला अदालतले टिकापुर घटनामा चौधरीसहित ११ जनालाई आजिवन जन्मकैदको सजाय सुनाएको छ भने ३ जनालाई निर्दोश सावित गरेको छ ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी हिंसात्मक घटना घटेको थियो। सोही घटनाका प्रमुख योजनाकार चौधरीलाई बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रतिनिधिसभा चुनावमा चौधरी कैलाली–१ बाट निर्वाचित भएका चौधरीलाई गत पुस १९ गते सांसद पदको सपथ खुवाइएको थियो ।


  •  
  •  
  •