१४ वर्षीया किशोरी बलात्कार गर्ने पाँच जनालाई साढे दश वर्ष जेल

615
  •  
  •  
  •  

काठमाडौं, १७ असाेज (ओएनएस) : उदयपुरमा एक १४ वर्षीया किशोरीमाथि बलात्कार गर्ने पाँच जनालाई साढे दश वर्ष जेल सजायको फैसला भएको छ भने जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला समेत भएको हो ।

उदयपुरको कटारी नगरपालिका–४ की नाम परिवर्तन हरिकलालाई सामूहिक बलात्कार गरेकाे पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महिना जेल सजायको फैसला गरेको हाे । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

दण्ड सजाय पाउने चार जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ । जिल्ला अदालतका नायब सुब्बा कमला निरौला १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो ।

विसं २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो । एक जना अझै फरार रहेका छन् ।


  •  
  •  
  •