बलात्कारका अभियुक्तलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन सुरु

217
  •  
  •  
  •  

काठमाडौं ३ पस ।
लात्कार अभियोगमा जिल्ला अदालतबाट सजाय सुनाइएका अभियुक्तलाई सफाइ दिने पुनरावेदन अदालत महेन्द्रनगरका दुई न्यायाधीशमाथि न्याय परिषद्ले छानबिन सुरु गरेको छ।

परिषद्ले सफाइ दिने फैसला प्रक्रियामा संलग्न पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीमाथि छानबिन अघि बढाएको हो।

बैतडीको पाटनमा एसएलसी परीक्षा दिने क्रममा पूजा बोहोरामाथि जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाइएका सागर भट्ट र अमर अवस्थीलाई जिल्ला अदालतले दोषी ठहर गरेको थियो। पुनरावेदन अदालतका न्यायाधीश राजभण्डारी र शाहीको संयुक्त इजलासले जिल्लाको फैसला उल्टाएर उनीहरूलाई सफाइ दिएपछि यो विषय विवादमा परेको छ।

परिषद्को मंगलबारको बैठकले सदस्य खेमनारायण ढुंगानालाई यस विषयमा गम्भीर छलफल गरी अध्ययन गर्न जिम्मेवारी तोकेको छ। ढुंगानाले फैसलाको अनुसन्धान सुरु भइसकेको बताए। ‘सबै बुझेर यथार्थ पत्ता लगाउँछौं’, उनले भने, ‘अनुसन्धानका क्रममा न्यायाधीश झिकाउन परे झिकाउँछौं।’ उनले यस विषयमा पहिले पनि अध्ययन भएको बताए। ‘अहिले अर्कै ढंगले कुरा आयो, सबै केलाएर निष्कर्षमा पुग्छौं’, उनले भने।

उक्त बलात्कार प्रकरणमा बैतडी अदालतका न्यायाधीश हिमालय पाठकको इजलासले २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई दोषी ठहर गर्दै जनही १३ वर्ष कैद र पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

फैसला उल्टाउँदै गत असार २ गते पुनरावेदनका न्यायाधीश राजभण्डारी र शाहीले उनीहरूले सफाइ पाउने फैसला सुनाएका थिए। न्यायाधीशद्वयले सफाइ दिँदा प्रहरीले फितलो अनुसन्धान गरेको, प्रमाणका रूपमा लिइएको शुक्रकीटको डीएनए परीक्षण नगरिएको, पीडितले बारदातस्थल एकिनसाथ भन्न नसकेको, सिलसिलेबार बयान नदिएको, अभियुक्तले प्रहरी र अदालती बयानमा कसुर इन्कार गरेको आधार लिएका छन्।

पुनरावेदनको यो फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ। उक्त फैसलामा संलग्न न्यायाधीश कानुनव्यवसायीबाट गत वर्ष पुनरावेदनमा न्यायाधीश नियुक्त भएका थिए। न्यायाधीश राजभण्डारी एमाले र शाही कांग्रेस पृष्ठभूमिका हुन्। शाही हुम्लाबाट कानुनव्यवसायी र न्यायाधीश बन्ने पहिलो व्यक्ति पनि हुन्।

यसैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार पूजा बोहोरा र रक्षा नेपालकी अध्यक्ष मेनका थापासँग आफ्नै निवासमा भेट गरी न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई पनि टेलिफोन सम्पर्क गरी सरोकार व्यक्त गरेका छन्।

भट्टराईको निजी सचिवालयका अनुसार भट्टराईले दोषीलाई सजाय र पीडितलाई न्याय दिन साहलाई आग्रह गरेका छन्। भट्टराई प्रधानमन्त्री भएका बेला बैतडीमा बलात्कारको घटना भएको थियो। भट्टराईले कानुन तथा न्यायमन्त्री नरहरि आचार्यलाई पनि टेलिफोन गरी पूजालाई न्याय दिलाउन आग्रह गरेका छन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •