वैदेशिक रोजगारीमा जाने घटेपनि रेमिट्यान्स १९.२ प्रतिशतले बढ्यो

176
  •  
  •  
  •  

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दश महिना अर्थात बैशाख मसान्तसम्मा नेपालमा ८ खर्ब ०९ अर्ब ८९ करोड रुपैयाँ विप्रषण (रेमिट्यान्स) भित्रिएको छ ।

गत आवको यसै अवधिको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ६० प्रतिशतले घटेपनि नेपालमा भित्रने रेमिट्यान्स भने बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

बैशाख मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ०३ अर्ब ७७ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।


  •  
  •  
  •