हरेक काम गर्ने आफ्नै तरिका र नियम हुन्छ । यस्तै नियम खाना खाँदा पनि पालन गर्नुपर्छ । खाना खाँदा पालन गर्नुपर्ने नियम पालन गर्न नसक्दा हामीले खाएको खाना पाचन गर्न अफ्ठ्यारो हुन सक्छ भने स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ ।
खाना खाँदा अपनाउनुपर्ने नियमहरू अवलम्बन गर्न सके स्वस्थ हुन सकिनुका साथै मान-सम्मान र पुण्य पनि प्राप्त गर्न सकिने शास्त्रहरूमा भेट्न सकिन्छ । केही खाना खाने नियमहरू बारे जानौ :
– ईर्श्या, डर, रिस, लोभ, दुःख, द्धेषको भावनाका साथमा खाइएको खाना राम्रोसँग पच्दैन । यसकारण खाना खाँदा यी भावनाहरूलाई त्याग्नु पर्छ । खाना खाने बेलामा मौन रहनुपर्छ । खाना खाने समयमा कुराकानी गर्नाले पाचन राम्रोसँग हुन सक्दैन ।
– खाना खाने समय हाम्रो मुख पूर्व या उत्तर दिशामा हुनुपर्छ । यी दिशा खाना खानका लागि शूभ मानिन्छ । दक्षिण दिशातिर फर्केर खाना खानाले नकारात्मक उर्जा बढ्छ र पश्चिम दिशातर्फ फर्केर खाँदा रोग बढ्छ ।
– कहिल्यै पनि रातिको समयमा धेरै खाना खानु हुँदैन । रातीको खाना सन्तुलित हुनुपर्छ । धेरै मसला भएको खाना खानु हुँदैन । यस्तै, खाना खानेबित्तिकै सुत्नु हुँदैन ।
– खाना सकेसम्म धेरै चबाएर खानुपर्छ । खाना यतिसम्म चबाउनु राम्रो हुन्छ की त्यो खाना पानी नै बनोस् र पानी जसरी नै पेटमा पुगोस् र सकेसम्म खाना खाने समयमा पानी कम पिउनु पर्छ ।
– खाना खानुभन्दा अगाडि आफ्नो दुवै हात राम्रोसँग धुनुपर्छ । सकेसम्म खानालाई खोट लगाउनु हुँदैन । यसले शारिरिक उर्जा दिँदैन ।
– खाना खाँदा आफूलाई भोक लागेजति खानु हुँदैन । अर्थात् आफूलाई पुग्ने भन्दा केहि कम खाना खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यस्तै, थोरै कम खाना खानाले मानिस बलवान्, सुखी र सुन्दर हुन्छ भने सन्तान पनि गुणवान् हुन्छन् । आफ्नो शरिरले मागे भन्दा बढी खाना खाने मानिस अल्छि हुन्छ भने विभिन्न रोगले सताउने गर्छ ।
– खाना बनाउँदा सधै शुद्ध मन तथा शरिरले खाना बनाउनुपर्छ । यदी सम्भव भए खाना बनाउनु अघि देवी देउताको मन्त्रको जप गर्नुपर्छ ।
– खाना खाने समयमा खुट्टा भिजेको अवस्थामा भए आयु बृद्धी हुने विश्वास गरिन्छ । शास्त्रका अनुसार बिहान, बेलुका नै खाना खानुपर्छ । बिहान र बेलुकाको समय पाचन तन्त्र राम्रो हुन्छ र खाना राम्रोसँग पच्छ ।
– खाना खाने समयमा कुनै प्रकार अशान्तिको वातावरण, ठुलो स्वर भए खाना नखानु राम्रो हुन्छ । यस्तै, खाना खाँदा पीपलको मुनी बसेर, पलंगमा बसेर खाना खानु हुँदैन भने टुटेको या फुटेको भाँडामा पनि खाना खानु हुँदैन ।
– यदी कुनै समय वा परिस्थितिमा खाना खाँदा आफ्नो अनादर हुन्छ भने त्यस्तो समयमा खाना नखानु राम्रो हुन्छ ।