रेखाका १० प्रेमी

59
  •  
  •  
  •  

सन् ७० को दशकबाट बलिउड पर्दामा आफ्नो जादु चलाएर दर्शकको हृदयमा बसेकी अभिनेत्री रेखा ६० वर्षकी भइन् । सन् १९६६ मा उनी पर्दामा देखा परिन् बालकलाकारका रूपमा । फिल्म थियो– ‘रंगुला रत्नम्’ । तमिल, तेलुगु र कन्नड भाषासहितका झन्डै दुई सय फिल्ममा उनले काम गरिसकेकी छिन् । उनको विवाह व्यवसायी मुकेश अग्रवालसँग भएको थियो । तर, नाम भने धेरै अभिनेतासँग जोडियो । त्यसकारण पनि उनको रिल जीवन र वास्तविक जीवन चर्चामा रहिरह्यो । अझै पनि कुनै न कुनै रूपमा उनी चर्चामै छिन् । यसै महिना उनको फिल्म ‘सुपर नानी’ रिलिज हुँदै छ । त्यस्तै, वास्तविक बलिउड कलाकारको प्रेमप्रसंगबारे चर्चा चल्दा रेखा एउटा नछुट्ने नाम हो । रिलमा धेरैसँग सफल सम्बन्ध बनाएकी उनको प्रेम जीवन भने असफल रह्यो । जीवनका अधिकांश समय सम्बन्धको उतारचढाव भोगेर पनि जीवनभर साथ पाउन नसकेकी यी नायिकासँग जोडिएकाको प्रेम प्रसंग यस्तो छ :

साजिद खान
रेखाको प्रेमजीवन साजिद खानबाट सुरुवात हुन्छ । महबुब खानका छोरा साजिद महबुब स्टुुडियोका मालिक थिए । उनी अमेरिकाबाट फर्किएका थिए, आधुनिक विचारधाराका थिए । जब साजिदले रेखालाई भेटे, उनको सरल जीवनबाट एकदम प्रभावित भए । रेखा कामप्रति पनि उत्तिकै समर्पित थिइन् । कामकै सन्दर्भमा उनीहरूबीच निकटता बढ्यो । तर, रेखाको जीवनमा जब नवीन निश्चलको प्रवेश भयो, उनी साजिदसँग टाढिइन् ।

 नवीन निश्चल
रेखाले हिन्दी फिल्ममा अभिनेत्रीका रूपमा ‘सावन भादों’बाट काम सुरु गरिन् । जसमा अभिनेता थिए नवीन निश्चल । उनीप्रति रेखा आकर्षित भइन् । तर, नवीनले भने खासै वास्ता गरेनन् । यो एकतर्फी आकर्षण फिल्मसँगै सकियो ।

विश्वजीत
आकर्षक छविका कारण दर्शकलाई मुग्ध पार्ने अभिनेता विश्वजीतको नाम पनि रेखासँग जोडियो । पत्रिकामा किसिङ सिन सार्वजनिक भएपछि यो जोडी चर्चामा आएको थियो । ‘दो सिकारी’ फिल्मको छायांकनमा किस सिन छायांकन गर्दा निर्देशकले ‘कट्’ भन्न भुले । रेखा र विश्वजीत भने त्यो अभिनयमा यति डुबे कि वरिपरि फिल्म युनिट छ भन्ने पनि भुले ।

जितेन्द्र
विश्वजीतसँग उनको सम्बन्ध नजमेपछि रेखाको सम्बन्ध जितेन्द्रतिर अघि बढ्यो । उनी त्यसवेला फिल्म उद्योगमा छाएका थिए । उनको मुस्कानमा रेखा लट्ठिएकी थिइन् । तर, शोभाले बाजी मारिन् । रेखा हेरेको हेर्‍यै परिन् ।

अमिताभ बच्चन
बलिउड उद्योगको सबैभन्दा चर्चितमध्येको प्रेमकहानी हो, रेखा–अमिताभको प्रेम । यो जोडीलाई केवल बलिउड उद्योगमा मात्रै मन पराइँदैनथ्यो, उनीहरूका फ्यानको पनि इच्छा थियो कि वास्तविक जीवनमा रेखा र अमिताभ जोडी बनून् । उनीहरूले धेरै फिल्म साथै खेले पनि । सन् १९७६ मा फिल्म ‘दो अन्जाने’को सेटमा यी दुई अन्जान मन एक–अर्काका नजिक भएका थिए । तर, अमिताभले रेखाप्रति आफ्नो प्रेम स्वीकार गरेनन् । रेखा भने यसका लागि सदैव तयार थिइन् । आखिर यो जोडीको कहानी पर्दामा मात्रै सीमित भयो ।

शत्रुघ्न सिन्हा
जितेन्द्रको सपना टुटेसँगै रेखाको मनमा पनि निकै चोट लाग्यो । त्यसवेला शत्रुघ्न सिन्हाले उनलाई काँध दिए । दुवैबीच केही समय निकटता रह्यो । तर शत्रुघ्नले जीवनभर रेखालाई साथ दिन सकेनन् । केही समयमै उनीहरू टाढिए ।
 
विनोद मेहरा
अभिनेता विनोद मेहरा र रेखाको रोमान्सबारे निकै चर्चा भयो । भनिन्थ्यो– उनीहरूले गोप्य रुपमा विवाह नै गरिसके । तर, एउटा टिभी सोमा रेखाले त्यसलाई अस्वीकार गर्दै विनोद आफ्नो राम्रो साथी भएको बताएकी थिइन् । रेखा र विनोदको सम्बन्ध टुक्र्याउने दोष विनोदकी आमालाई दिइन्छ । भनिन्छ– उनी रेखालाई फिटिक्कै मन पराउँदिनथिन् ।

यश कोहली
यश देव आनन्दका भतिज हुन् । विनोद मेहरासँगको सम्बन्ध टुटेपछि  यशसँग रेखाको सम्बन्ध बनेको थियो । उनीहरूको बिहेसमेत भएको चर्चा भएको थियो । रेखाको जीवनमा लामो समय टिकेको सम्बन्ध हो यो । तर,  पछि उनीहरू छुट्टिए ।
 
 किरण कुमार
अभिनेता किरण कुमार र रेखाको प्रेमकहानीको चर्चा पनि केही समय भयो । आफ्नो प्रेमले आकार लिन नसकिरहेको दु:खमा डुबिरहेकी रेखालाई किरणले साथ दिएका थिए । तर, यो सम्बन्ध पनि लामो समय अघि बढ्न सकेन ।

 मुकेश अग्रवाल
रेखाले सन् १९९०मा नयाँदिल्लीका व्यवसायी मुकेश अग्रवालसँग विवाह गरिन् । तर, विवाहको केही महिनापछि मुकेशले आत्महत्या गरे । मुकेशले आफ्नो आत्महत्याका पछाडि कसैको हात नरहेको नोट छाडेका थिए । यस घटनापछि रेखामा प्रेमसम्बन्धप्रति नै वितृष्णा पैदा भयो । त्यसपछि उनको नाम कसैसँग जोडिएको सुनिएको छैन ।

नयाँपत्रिका/एजेन्सी


  •  
  •  
  •