मृत्युदण्ड पाएकी रेहानाको आमालाई मर्मस्पर्शी सन्देश

274
  •  
  •  
  •  

rehana-jabbariकाठमाडौ, ११ कात्तिक(एजेन्सी) : मृत्युदण्डको सजाय पाएकी इरानकी २६ वर्षीय युवती रेहाना जब्बारीले आफ्नो मृत्युपश्चात सबै अंगहरू दान गर्ने इच्छा व्यक्त गरेकी छिन् । उनले आफ्ना सबै अंग दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई मनै छुने सन्देश पठाएकी छिन् । अन्तराष्ट्रियस्तरमा गरिएका प्रयास बाबजुत रेहानालाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । आफूलाई जबरजस्ति बलात्कारको प्रयास गर्ने पूर्व इन्टिलिजेन्ट अफिसर अब्दोअली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्रहार गर्दा सरबन्दीको ज्यान गएपछि त्यहाँको अदालतले हत्याको आरोपमा मृत्युदण्ड सुनाएको हो । अदालतले हत्या जानीबुझी गरेको बताएको छ ।

सोही हत्याको आरोपमा विगत ७ वर्षदेखी जेलमा रहेकी रेहानालाई २५ अक्टुबरमा फाँसी दिइएको थियो । उनले मृत्युअघि आमालाई सन्देश पठाउँदै आफ्ना सबै अंगहरू दान गर्ने इच्छा व्यक्त गर्दै सन्देश पठाएकी थिइन् । उनले उक्त सन्देश गत अप्रिल महिनामा नै पठाएकी थिइन् । तर, उनका समर्थकहरूले उक्त सन्देश उनको मृत्युपछिमात्र सार्वजनिक गरेका थिए ।

मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेशलाई गलत भएको ठहर गरेको छ । एम्नेस्टीका अनुसार रेहानाले सरबन्दीको हत्या आफूले गरेको बताए पनि त्यसबेला घटनास्थलमा अर्को व्यक्तिको पनि उपस्थिति थियो र हत्या अर्कैले गरेको थियो ।

उनले आमालाई‌ पठाएको सन्देशको भावार्थ यस्तो छः

मेरी प्रिय आमा,
आजै थाहा पाएँ मैले किस्सास (इरानी विधि व्यवस्थामा प्रतिकार कानून) को सामना गर्नुपर्ने छ । म आफ्नो जीवनको अन्तिम अवस्था नजिकै आइपुगेकी छु भन्ने तपाइले अझै स्वीकार गर्न नसक्दा म खिन्न भएकी छु ।

तपाइको उदासीले मलाई निकै सताउँछ । एकपटक तपाइँ र बुवाको हात चुम्ने मौका मलाई किन दिनु हुन्न ?
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।

मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन ।

मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।

तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।

आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।

हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त ।

जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।

आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ ।

जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।

न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् ।
र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।

यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो ।मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।

मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।

मैले आफ्नो नासोका रुपमा केही हस्तलिखित दस्तावेज तपाइँका लागि छोडेकी छु । आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न ।

त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस । मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस् ।

मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।

मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि । यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।

सृष्टिकर्ताको अदालतमा मैले ति सबै जसले अज्ञानताबस वा गलत मनसायले मेरो अधिकार खोसे र कहिलेकाहीं वास्तविकता बाहिर देखिए भन्दा फरक हुन्छ भन्ने तथ्यमा ध्यान दिन चाहेनन् ति सबैविरुद्ध आरोपपत्र प्रस्तुत गर्नेछु ।

कोमल हृदयकी मेरी आमा, अर्को संसारमा अरुहरु आरोपित हुनेछन जुनबेला आरोपपत्र दायर गर्ने तपाइँ र म मात्रै हुनेछौं । हेरौं भगवान के चाहँदा रहेछन् ।

नमर्दासम्म म तपाइँलाई अँगालोमा बाँधीरहन चाहन्थे । आइ लभ यु ।
रेहाना


  •  
  •  
  •