शरणार्थीबिना शरणार्थी नेता

257
  •  
  •  
  •  

काठमाडौं १६ माघ । पूर्वी नेपालका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थी पुनर्वासमा तेस्रो मुलुक गएपछि शरणार्थीका नेता भने जनताविहीन भएका छन्। शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकको पुनर्वास प्रक्रिया अन्तिम चरणमा पुग्दा शरणार्थी शिविरमा खुलेका पार्टीको गतिविधि शून्य छ।

भुटानी शरणार्थी पूर्वी नेपालका झापा र मोरङको शनिश्चरेमा खचाखच रहेका बेला उनीहरूका लागि काम गर्ने कम्तीमा आधा दर्जन दल थिए। तर ती दलमा आबद्ध जनता विभिन्न देशमा लगिएपछि दलको बैठकसमेत हुनसकेको छैन।

भुटानी जनता राजनीतिबाट टाढिँदै जाँदा शरणार्थी नेतामा निराशा बढेको छ। शिविर रित्तिँदै गर्दा उनीहरू कामविहीन भएका छन्। कुनै बेला भुटान पिपुल्स पार्टी मोरङ र झापामा रहेका शरणार्थीको सबैभन्दा ठूलो पार्टी थियो।

अध्यक्ष बलराम पौडेल बेफुर्सदिला थिए। उनलाई शरणार्थीसम्बन्धी कार्यक्रम र पार्टी गतिविधिमा सहभागी हुन भ्याइनभ्याइ हुन्थ्यो। पौडेलको घरमा दैनिक भीड लाग्थ्यो। अहिले दिन फेरिएको छ।

झापाको बिर्तामोडमा उनी फुर्सदले घाम तापेर बसेका छन्। सदरमुकाम चन्द्रगढी जाने सडकको पूर्वपट्टि रहेको तीनतले घरमा उनको बसाइ छ। उनी घरमा धुम्धुम्ती बस्छन्।

उनी भन्छन्, ‘देश फर्कने आशा त अझै मरेको छैन तर हाम्रा जनतालाई संसारभर छरपस्ट पारियो। सम्झँदा पनि कहाली लाग्छ।’ छोराबुहारी उनलाई छोडेर अमेरिका पुगेका छन्।

जो जहाँ गए पनि सामाजिक सञ्जालले नजिक बनाएको पौडेलको भनाइ छ। उनले भने, ‘दलको गतिविधि शून्यजस्तै भए पनि हामी विश्वमा छरिएका शरणार्थी वरपर नै छौं।’ उनले पुनर्वासमा गएका शरणार्थीले भुटानी शरणार्थीको कुरा अन्तर्राष्ट्रिय जगत्लाई सुनाउने काम गरिरहेको दाबीसमेत गरे।

पौडेलजस्तै एक्लोपना महसुस गरिरहेका अर्का शरणार्थी नेता हुन् टेकनाथ रिजाल। उनका आफ्नै छोराहरूसमेत पुनर्वासबाट क्यानाडा पुगेका छन्। उनी श्रीमतीसँग काठमाडौंमा बस्दै आएका छन्। १० वर्ष भुटानमा जेलजीवन भोगेका रिजाल बुढेसकालमा एक्लोजस्तै जीवन बिताइरहेका छन्।

यी नेताहरूलाई जीवन चलाउन खर्चसमेत अभाव हुने गरेको छ। आफन्त र छरछिमेकीको सापटी तथा सहयोगमा उनीहरूको दैनिकी चलिरहेको छ।

अर्का शरणार्थी नेता डीपी काफ्ले बिर्तामोडमा ट्राभल्स एजेन्सी सञ्चालन गर्छन्। पिपुल्स फोरम फर ह्युमन राइट्स भुटानका महासचिवसमेत रहेका काफ्ले बिहानदेखि बेलुकासम्म आफ्नै व्यवसायमा व्यस्त हुन्छन्।

व्यस्तताबीच पनि उनी शरणार्थीका सबै गतिविधिबारे चासो राख्न भ्याउँछन्। विश्वको जुन स्थानमा भुटानी शरणार्थी पुगे पनि सम्पर्कमा नै रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिले यहाँ सानो समुदाय देखिएको छ तर विश्वका जुनसुकै ठाउँमा पुगे पनि उनीहरू भुटानी नै हुन्।’

भुटान महिला संघकी अध्यक्ष जसोधा बुढाथोकीको दैनिकी पनि फुर्सदिलो छ। बिहान उठेर पूजापाठ गर्नु, किताब पढ्नु, रेडियो सुन्नु, टेलिभिजन हेर्नु र घरायसी काम गर्नु उनको दैनिकी हो।

उनका पनि छोराछोरी पुनर्वासमा पश्चिमा मुलुक पुगेका छन्। उनी भुटान पिपुल्स पार्टीका संस्थापक अध्यक्ष आरके बुढाथोकीकी श्रीमती हुन्। बुढाथोकीको २०५८ साल भदौ २४ गते हत्या भएको थियो। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •