सवारी दुर्घटना कम गर्न ‘रिफ्रेस सेन्टर’

125
  •  
  •  
  •  

ओखलढुंगा, ११ माघ : बढ्दो सवारी दुर्घटना कम गर्न र सडक सुरक्षाका लागि ओखलढुंगाको टोक्सेल २ हर्कपुरमा रिफ्रेस सेन्टर स्थापना हुने भएको छ ।

ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाको ट्रान्जिट प्वाइन्ट मानिने हर्कपुरमा सवारी चालकका लागि आराम गर्ने र सवारी समस्या समाधान गर्ने रिफ्रेस सेन्टर स्थापना हुने भएको हो ।

लामो दूरीमा सवारी सञ्चालन गर्दा सवारी चालकमा आउने तनाव कम गर्न र सवारी दुर्घटना न्युनिकरणका लागि रिफ्रेस सेन्टर स्थापना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर विकले बताए । रिफ्रेस सेन्टरमा प्रहरीले चालक र सहचालकलाई यातायात व्यवस्था ऐनमा व्यवस्था भएको कानूनी प्रावधान सम्बन्धी काउन्सिलिङ गर्नेछन् ।

रिफ्रेस सेन्टर जतिसक्दो चाँडो भवन निर्माण गरेर सञ्चालन गरिने प्रहरीले जनाएको छ । रिफ्रेस सेन्टरका लागि अहिले हर्कपुर क्षेत्रमा सरकारले जग्गा छनोटको काम गरिरहेको छ । पछिल्लो समयमा सवारी चालकका कारण दुर्घटना बढेको विभिन्न तथ्यांकले देखाइरहेको बेला सरकारले रिफ्रेस सेन्टरको अवधारणा अगाडि ल्याएको हो ।

रिफ्रेस सेन्टर स्थापना भएपछि ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लामा चल्ने र बाहिरिने सवारी साधनका चालकलाई आराम गराउने र यात्रामा आइपरेका समस्या ट्राफिक प्रहरीले समाधान गराउने व्यवस्था मिलाइनेछ ।


  •  
  •  
  •