रोल्पामा भेटिएको रेडपान्डा जावलाखेल लगियो

394
  •  
  •  
  •  

red panda in rolpaरोल्पा, ५ माघ(ओएनएस) : विश्वमै दुर्लभ मानिने रेडपान्डा रोल्पामा भेटिएको छ । रोल्पाको सदरमुकामदेखि २८ कोष टाढा रहेको गाँउ गाविसको वडा नं ४ स्थित दाङ्गाधारा गाउँमा रेडपान्डाको जोडी भेटिएको हो ।

५९ वर्षीय स्थानीय मन बहादुर बुढा मगरले करिब ४ महिना पहिले जंगलमा जंगलमा च्याउ खोज्ने क्रममा बेवारिसे अवस्थामा एक जोडी बच्चालाई भेटाएका थिए । उक्त जनावरका बच्चाहरुका शरीरमा कुनै पनि रौँ तथा मुखमा दारा समेत नभएको अवस्थामा भेटाएको बुढामगरले बताए । एक जोडी बच्चालाई उनले फरक–फरक स्थानमा फेला पारेका हुन् ।

सानो बच्चा भेटाउँदा टिठ लागेर आफुले घरमा लिएर पालेको उनले बताए । घरमा लगेपछि उक्त बच्चाहरुलाई खाना खुवाउनेको समस्या परेपछि उनले छिमेकीको घरबाट बाख्राको दुध किनेर खुवाएको बताए । बच्चाहरु हुर्कदै गएपछि रौँ समेत पलाएको बुढामगरले बताए ।

तिहारमा मान्छेहरुको चहलपहल धेरै भएपछि रेडपान्डाका बच्चाहरु भागेको बुढामगरले बताए । रेडपान्डाका बच्चाहरु घरबाट भाग्दा आफ्नो श्रीमती रातभरी निकै रोएको बुढा मगरले स्मरण गरे । ‘मेरो ५ बहिनी छोरी र एउटा छोरा छन् तर, उनीहरुको माया भन्दा पनि मेरो बुढीले रेडपान्डाका बच्चाहरुको धेरै माया गर्थिन्’, उनले भने ।

तर, त्यहाँबाट भागेको दुई दिनपछि गाईको लागि स्याउला बनाउन जाने क्रममा पुन: रेडपान्डाका बच्चाहरु घरमा आएको बताए । पछि छिमेकीले यो रेडपाण्डा भएको बताएपछि संसारमा दुर्लभ जनावर आफूले घरमा राखेको थाहा पाएको उनको भनाई छ । यसपछि उनले जलजला पर्यटन र्बोर्डका अध्यक्ष छिरीङलाई फोन गरेर यसबारे जानकारी दिएको र छिरीङ काठमाडौँमा रहेकाले त्यहाँबाट फर्केर रेडपाण्डा हेर्न आफ्नो घरत आइपुगेको बताए । छिरीङले रेडपान्डाको कानुन अप्ठ्यारो हने र व्यक्तिले पाल्न नमिल्ने बताए । त्यसपछि छिरीङले आफुले माथिल्लो निकायमा बुझ्ने वातावरण मिलाउने बताए ।

यसपछि यसबारे धेरै मानिसले थाहा पाए । आफूलाई भने रेडपान्डालाई कुनै तस्करहरुले लग्यो भने आफु अप्ठ्यारो स्थितिमा पर्ने महसुस गरेर छिरिङलाई पुन सम्पर्क गरेको बताएका छन् । त्यसपछि मात्र सुरक्षा निकाय र वनका कर्मचारीहरू त्यहाँ पुगेका थिए ।

घरमा लिइ पालनपोषण गरेपछि बच्चा हुर्कदै जादा रेडपान्डा भएको पुष्टि भएपछि बुढा मगरले सोमबार जिल्ला वन कार्यालय रोल्पालाई बुझाएका छन् । रेडपान्डाको उक्त जोडीलाई सदर चिडियाखाना जाउलाखेल ललितपुर पुर्‍याइएको छ ।

जिल्ला वन अधिकृत हरिनारायण मन्डलले गाउँलेहरुको माग अनुसार रेडपान्डाको बासस्थानलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अध्ययन गर्न वन विभाग र निकुञ्ज विभागमा कुरा गरेको बताएका छन् । गाऊँस्थित सर्वदलीय तथा स्थानीयबासीहरुले त्यहाँ पाइने रेडपान्डा, कस्तुरी राते, घोरल, धार, बैडेल, बाघ, भालु, वन कुकुर, निंमाली, वन बिरालो, सेतो बादर, गुण, धाँवा, साहारा, झारल, तथा पन्छीहरू डाँफे, मुनाल, काँगरासर र कोम जस्ता वन्य जन्तु पाइने भएकाले त्यसको संरक्षणको लागि राष्ट्रिङ निकुञ्ज, जिल्ला वन कार्यालय रोल्पा, जिल्ला विकास समिति रोल्पा, जिल्ला प्रशासन कार्यालय रोल्पा, वन तथा भु–संरक्षण मन्त्रालय र जिल्ला भु–संरक्षण कार्यालय रोल्पामा निवेदन पेस गर्ने निर्णय समेत गरेका छन् ।

उक्त क्षेत्रको जंगललाई वन्यजन्तु आरक्षण केन्द्र बनाउनका लागि स्थानीयबाट माग भएकाले आवश्यक प्रकृया अगाडी बढाउने जिल्ला वन अधिकृत मण्डलले बताए । उक्त क्षेत्रको जंगल समुन्द्री सतहदेखि ३ हजार ५ सय मिटरको उचाइमा रहेकाले अन्य दुर्लभ बन्य जन्तु समेत पाइने स्थानीयले बताएका छन् ।


  •  
  •  
  •