पुन:निर्माण प्राधिकरणद्वारा तीन महिने कार्ययोजना पारित

203
  •  
  •  
  •  

काठमाडौँ, २९ पुस(ओएनएस) : राष्ट्रिय पुन:निर्माण परामर्श परिषद्को बैठकले तीन महिने कार्ययोजना पारित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सबै राजनीतिक दल र सरकारका उच्च कार्यालयका अधिकारी सहभागी भएको बैठकले तीन महिने कार्ययोजना पास गरेको हो । बैठकले तीन महिनाभित्र ४ चरणका कामहरु पूरा गर्ने गरि कार्ययोजना पास गरेको हो ।

बैठकमा कार्यकारी अधिकृत सुशील ज्ञवालीले माघ २ देखी बैशाख १२ गतेसम्मको तीन महिने कार्ययोजना पेस गरेका थिए । पुन:निर्माण अभियान भुकम्प दिवस अर्थात् माघ २ गतेदेखी नै सुरू गरिनेछ ।

पहिलो चरणमा संगठन संरचना तयार गरेर जिल्ला समन्वय समिति गठन गरिनेछ । यसपछि दोस्रो चरणमा पुन:निर्माणसम्बन्धी नीति, नियमावली तथा कार्यविधी कार्यान्वयन अवधारणा सार्वजनिक गर्दै कार्यालय स्थापना गरिने छ । उक्त कार्य फागुन १२ गतेसम्म सम्पन्न गरिनेछ कार्ययोजनामा उल्लेख छ ।

तेस्रो चरणमा सबै जिल्लाको भवन तथा जनसंख्या सर्वेक्षण सुरू गरिनेछ । कम्तिमा ५ जिल्लामा आवास भवन निर्माणको सुरूवात समेत यसै चरणमा गरिने छ ।

त्यस्तै चौथो चरणमा सबै जिल्लामा विस्तृत भवन तथा जनसंख्या सर्वेक्षणको काम सम्पन्न गरिनेछ । यसरी यो अभियानको चौथो चरण बैशाख १२ गतेसम्मको हुनेछ ।

यसैगरी प्रत्येक गाविसमा एक इन्जिनियर, एक सामाजिक परिचालक र एक जना तालिम प्राप्त निर्माणकर्मीको व्यवस्था गरिने कार्ययोजना छ । यो अवधिमा नै समग्र पुनर्निर्माण कार्यको पाँच वर्षे कार्ययोजना तयार पारेर कार्यान्वयन गरिने समेत प्राधिकरणले जनाएको छ ।


  •  
  •  
  •