काठमाडौँ, २ चैत्र(ओएनएस) : गत वैशाख १२ को विनाशकारी भूकम्पमा सबैभन्दा बढी क्षति बागमती अञ्चलमा पुनःनिर्माणको कार्य चाँडै सुरू हुनुपर्ने नेकपा एमालेका नेताहरूले बताएका छन् ।
आज काठमाडौँमा एमाले बागमती अञ्चल समन्वय समिटीले आज अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पुनःनिर्माणको कार्य वर्षा सुरू हुनु अगाडि नै सुरू गर्नुपर्ने बताएका हुन् । पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेकपा एमाले बागमती अञ्चलका केन्द्रीय नेताहरूको उपस्थितिमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
उनीहरूले वर्षा अगावै जनताको घर निर्माण भइसक्ने गरी योजना बन्नुपर्ने, सरकारी प्राविधिक, स्थानीय निकायको निगरानी र निरीक्षणमा सरकारले दिएको नमुना मुताविक जनता आफैंलाई आवास निर्माण गर्न पाउनुपर्ने र यसरी बनाइएको घरलाई समेत राज्यबाट दिने ऋण र अनुदान दिनुपर्ने, घर निर्माणका लागि दिइने थप ३ लाख ऋणलाई अनुदानमा रुपान्तरण गर्नुपर्ने, भूकम्प प्रभावित सबै जिल्लामा काम एकैपटक थाल्नुपर्ने, क्षति भएका सार्वजनिक संरचनाको पुनःनिर्माणको काम तत्काल सुरुवात हुनुपर्ने लगायतका माग उठाएका छन् ।
बागमती भित्रका पार्टी स्थायी कमिटी, पोलिव्यूरो र केन्द्रीय कमिटिका सदस्यहरू, जिल्ला कमिटिका अध्यक्ष तथा पदाधिकारीहरू, सभासदहरू एवम् पार्टीका नेताहरुको उपस्थिती रहेको उक्त भेलामा बोल्दै पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जनताका आवास र सार्वजनिक संरचनाको निर्माणका सम्बन्धमा प्राधिकरणले हालसम्म गरेका काम र आगामी योजना प्रस्तुत गरेका थिए ।
यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले भूकम्पबाट प्रभावित क्षेत्रमा आगामी बजेटमा समावेश गरिने विशेष कार्यक्रम बारेमा योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अनुशासन आयोगमा अध्यक्ष एवम् सांसद अमृतकुमार बोहोरा, पार्टी पाेलिटब्युराे सदस्य पूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे, पार्टी पाेलिटब्युराे सदस्य पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे लगायतका पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिती रहेको थियो ।