पुनःनिर्माणमा ढिलाई भएको छ : प्रधानमन्त्री

137
  •  
  •  
  •  

काठमाडौँ, १३ बैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मविश्वासका साथ पुनःनिर्माण अभियानलाई तीव्रता दिन आग्रह गरेका छन् ।

पुनःनिर्माण अभियानको सुरूवातका क्रममा स्वयम्भूमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनःनिर्माणले गति लिन नसकेको स्वीकार गर्दै आगामी दिनमा तीव्रताका साथ काम हुने बताए । उनले जनता अप्ठ्यारो र असुविधामा रहेको भन्दै आफूले पुनःनिर्माणको कामलाई तिव्रता दिनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिए ।

भूकम्पका कारण आठ लाख भन्दा बढि घर भत्केको भन्दै सरकारले घर निर्माणका लागि रकम दिँदा पनि घर बन्न सहज नहुने भन्दै सामूहिक टहरा निर्माणको पनि योजना गरिएको बताएका छन् ।

उनले १० भन्दा बढी जिल्लामा पुनः निर्माण सुरु भएकाले अब ढिलो नहुने विश्वास दिलाएका छन् । उनले ऐतिहासिक कला, धर्म, संस्कृति हाम्रा आस्थाको धरोहरलाई बचाउन लगातार काम गर्न पनि आग्रह गरे ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले स्वयम्भू क्षेत्रको पुनःनिर्माणका लागि रु एक करोड ७१ लाखको लागत अनुमान गरिएको जानकारी दिए । त्यहाँका पाँच सम्पदा, २४ पुजारीका घर पुनःनिर्माणका लागि सो बजेट अनुमान गरिएको हो । प्रताप मल्लले बनाएको अनन्तपुर, देवधर्म महाबिहार, टाँसीगोर्मा महाचैत्यलगायत सम्पदा क्षतिग्रस्त भएका थिए ।


  •  
  •  
  •