सिन्धुपाल्चोक र गोरखामा ९ वटा पुन:निर्माण श्रोतकेन्द्र बन्दै

184
  •  
  •  
  •  

reconstruction centerगोरखा, २ जेठ(ओएनएस) : गोरखाका स्थानीय विकास अधिकारी नारायण आचार्यले पुननिर्माणको काममा सघाएको भन्दै गैर सरकारी संघ संस्थालाई धन्यवाद दिएका छन् । स्थायी आवास निर्माणका लागि जिल्लाका ३०/३२ गाविसमा अनुदान पुगी सकेको बताउँदै उनले दक्ष डकर्मी र सिकर्मी उत्पादनमा ध्यान दिन आग्रह गरेका छन् ।

आइतबार इन्जिनियर सब इन्जिनियरका लागि आयोजना गरेको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन गर्दै उनले भने, ‘ग्रामिण भेगमा भूकम्प प्रतिरोधी भवन निर्माणमा व्यापक चासो बढेको हामीले पाएका छौं । केयर नेपाल, एकिकरण नेपाल र सिएसआरसी लगायतका संस्थाले डकर्मी तथा सिकर्मी उत्पादन गरेपछि सरकारी नीति र भूकम्प प्रतिरोधी भवन निर्माण मार्फत राष्ट्रिय पुननिर्माण अभियानमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’ पुनःनिर्माणका हरेक कार्यहरुमा जिल्ला विकास समिति र गैर सरकारी संस्थाबीच निरन्तर सहयोग र समन्यव रहने बताउँदै स्थानीय विकास अधिकारी आचार्यले आवश्यक दक्ष जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्न सुझाव दिए ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाका प्रमूख श्यामकिशोर सिंहले दक्ष डकर्मी सिकर्मी उत्पादन भएपछि भूकम्प प्रतिरोधी भवनको साख्यामा बृद्धि हुने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाका निमित्त प्रमूख गुणराज भट्टराईले सुरक्षित भवन निर्माणका लागि आवश्यक जनशक्ति निर्माणका कार्यक्रमलाई सरकारले पनि महत्वका साथ लिएको बताए ।

नागरिक समाज गोरखाका अगुवा तथा अधिवक्ता स्थानेश्वर दुवाडीले कार्यक्रम र बजेटका विषयमा सरोकारवाला निकायलाई पहिल्यै जानकारी गराएकोमा धन्यवाद दिँदै पारदर्शीताको कुरालाई निरन्तरता दिन आग्रह गरे । उनले भने, ‘कार्यक्रम र बजेटका बारेमा गाविसस्तरमैं पूर्वजानकारी गराएर प्रशंसनीय काम गर्नुभएको छ । कार्यक्रमपछि वास्तविक खर्च जानकारी गराउनुहोला । पारदर्शिता र जवाफदेहीता बृद्धि गर्ने यस्तो प्रकृयाले गैर सरकारी संस्था प्रतिको नागरिकको भ्रम हटाई बिश्वासको वातावरण श्रृजना गर्छ ।’

एडिएच जर्मनको आर्थिक सहयोगमा केयर नेपालले एकिकरण नेपाल गोरखा र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र सिन्धुपाल्चोकसँगको साझेदारीमा गोरखाका ११ र सिन्धुपाल्चोकका ६ गाविसमा सबल समुदाय, सुरक्षित आवास : स्वनिर्माणको प्रवद्र्धन परियोजना सञ्चालन गरेको छ । सुरक्षित घर निर्माणको विधि अपनाई नयाँ निर्माण तथा पुननिर्माणका घरहरुको संख्या बृद्धि गर्ने र बृहत समुदायलाई विपद जोखिम न्यूनिकरणमा सहयोग गर्ने उद्देश्यले परियोजना लागु गरिएको केयर नेपालका सेल्टर डेपुटी टीमलिडर बन्दना शर्माले बताइन् ।

तालिममा सिन्धुपाल्चोकका ६ जना, गोरखाका १३ जना र केयरका ५ जना प्राविधिक सहभागी रहेको र उनीहरुले गाविसस्तरमा काम गरिरहेका डकर्मीलाई भूकम्प प्रतिरोधी प्रविधि सम्बन्धी ७ दिने तालिम दिने उनको भनाइ छ । उनले भनिन्, ‘सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको पाठ्यक्रम अनुसार भूकम्प प्रतिरोधी भवन निर्माण प्रविधि सिकाउने ७ दिने तालिम सञ्चालन हुन्छ । जसबाट सुरक्षित घरहरुको संख्या बृद्धि गराउने उद्धेश्य हामीले लिएका छौं ।’

सिन्धुपाल्चोकका बरुवा, बाँसखर्क, भोताङ, लाँगार्चे, थकनी र दुवाचौरका ५ सय १० तथा गोरखाका वार्पाक, गुम्दा, केरौंजा, लाप्राक, उहिया, कासिगाउँ, गाँखु, छोप्राक, खोप्लाङ्ग, हर्मी र मुच्चोकका ७ सय ३० सहित एक हजार २ सय ४० जना दक्ष कालिगढ (सिकर्मी तथा डकर्मी) उत्पादन गर्ने लक्ष्य रहेको परियोजना प्रमूख उमेश श्रेष्ठले जानकारी दिए ।

‘२ वर्षसम्म सञ्चालन हुने परियोजनाले भुकम्प प्रतिरोधी निर्माण प्रविधि सम्बन्धि प्रदर्शनकालागि १६ वटा नमुना घर निर्माण गर्नुका साथै गोरखामा ४ र सिनधुपाल्चोकमा गरी ५ गरी ९ वटा पुननिर्माण श्रोत केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ ।’उनले भने, ‘जिल्ला तहको विपद व्यवस्थापन योजनासँग समन्वय स्थापित गर्दे १७ वटै गाविसमा विपद व्यवस्थापन समिति गठन गर्ने, क्षमता विकास गर्नुका साथै विपद जोखिम न्यूनिकरण योजना निर्माण तथा कार्यान्वयन गर्ने लक्ष्य छ ।’

सुरक्षित घर निर्माण सम्बन्धी सूचना प्रदान गर्न, प्राविधिक सहयोग प्रदान गर्न र सुरक्षित निर्माण सम्बन्धी प्रविधिमा सल्लाह प्रदान गर्न हरेक गाविसमा मोबाइल घुम्तीटोली समेत परिचालन गर्ने कार्यक्रम रहेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्र सिन्धुपाल्चोकले जनाएको छ । मोबाइल घुम्तीटोली मार्फत दुई वटै जिल्लामा गरी ७ हजार घरधुरीलाई प्राविधिक सहयोग गर्ने परियोजनाको लक्ष्य छ ।

त्यस्तै स्रोत केन्द्रमार्फत समुदायलाई भूकम्प प्रतिरोधी निर्माण प्रविधि, सरकारी नीति तथा नियम, आबास, भूमि तथा सम्पत्तीको अधिकार, सरसफाई, उर्जाको वचत, अपाङ्गता भएकाहरुका लागि पहुँच र लैङ्गिकता सम्बन्धी १५ हजार भन्दा बढी व्यक्तिहरुलाई जनचेतना प्रदान गर्नेपरियोजना प्रमूख उमेश श्रेष्ठले बताए ।


  •  
  •  
  •