चार नेताले एकैसाथ गरे चार स्थानबाट पुनःनिर्माणको शुभारम्भ

340
  •  
  •  
  •  

काठमाडौँ, १२ बैशाख(ओएनएस) : विनाशकारी महाभूकम्प गएको दिनको स्मरण गर्दै सरकारले भूकम्पका कारण क्षति पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणको काम चार स्थानबाट सुरू गरेको छ ।

पुनःनिर्माणको कामको सुरूवात ४ नेताले विभिन्न ४ स्थानबाट गर्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदाको रूपमा रहेको अनन्तपुर मन्दिर स्वयम्भूको पुनःनिर्माणको शुभारम्भ गरेका छन् ।

यस्तै, पूर्वप्रधानमन्त्री तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाटन दरबार क्षेत्रमा रहेको मणिमण्डपको पुनःनिर्माणको शूभारम्भ गरेका छन् भने प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वंशगोपाल मन्दिर, हनुमानढोकाको पुनःनिर्माणको शुभारम्भ गरेका छन् ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरको फसि देगः मन्दिर र याला गेटको जिर्णोद्धारको पुनः निर्माणको शुभारम्भ गरेका छन् ।

चार स्थानबाट पुनः निर्माणको शुभारम्भपछि ११ बजे भृकुटीमण्डपमा प्रधानमन्त्री ओली तथा प्रमुख राजनीतिक दलका नेताको उपस्थितिमा गत एक वर्षभित्र नेपालमा भएका पर्यटन क्षेत्रका सकारात्मक घटना, तस्विर तथा भिडियो क्लिपको प्रदर्शनी गरिएको थियो ।


  •  
  •  
  •