विरोधकाबीच पुनःनिर्माण प्राधिकरण विधेयक सर्वसम्मत पारित

157
  •  
  •  
  •  

काठमाडौँ, १ पुस(ओएनएस) : गत बैशाखमा गएको विनाशकारी भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी विधेयक संसदले सर्वसम्मत पारित गरेको छ ।

विधेयक पास भएपछि पुनःनिर्माण प्राधिकरण गठनको बाटो खुलेको छ । मंगलबार बसेको संसद बैठकले मधेसी मोर्चाको विरोधकाबीच पुनःनिर्माण विधेयक पारित गरिएको हो । मधेसी मोर्चाले संसद बहिस्कार गरेका थिए । यसपछि मधेसका ३ सांसदले रोष्टम घेराउ गरेका थिए ।

विधेयक पास हुनुअघि सांसदहरुले उठाएको प्रश्नको कानूनमन्त्री अग्नि खरेलले जवाफ दिएका थिए । उनले अब पुनःनिर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्ने बताए ।

विधेयक पारित भएपछि सरकारले केही दिनमा प्राधिकरण गठन गर्नेछ । विधेयक अनुसार प्रधानमन्त्रीको नेतृत्वमा प्राधिकरण गठन हुनेछ र प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिनेछ ।

प्राधिकरणमा दुईवटा संरचना हुनेछन् । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय पुनःनिर्माण परामर्श परिषद् गठन हुनेछ । यसमा मन्त्रीहरू, विपक्षी दलका नेता, पूर्व प्रधानमन्त्रीहरू, संविधानसभामा प्रतिनिधितत्व गर्ने दलका प्रमुखहरू, योजना आयोगका उपाध्यक्ष, सेनापति, गभर्नर, सरकारका सचिवहरु, लगानी बोर्डका कार्यकारी अधिकृत, ११ जना विज्ञ हुनेछन् ।

यस्तै, पुनःनिर्माण प्राधिकरणको केन्द्रीय निकायको रुपमा निर्देशक समिति बन्नेछ । यस समितिको पनि अध्यक्ष प्रधानमन्त्री हुनेछन् र उपाध्यक्ष विपक्षी दलका नेता वा निजले तोकेको व्यक्ति हुनेछन् । यस्तै, यस समितिमा दुई मन्त्री, कार्यकारी अधिकृत, योजना आयोगका उपाध्यक्ष, सरकारका मुख्य सचिव र तीन विज्ञ रहनेछन् ।


  •  
  •  
  •