प्राधिकरण गठनको असन्तुष्टि , रायमाझी भन्छन् : नौटंकी, पूर्ण छैन : महत

133
  •  
  •  
  •  

काठमाडौं, ७ असार (ओएनएस) : एकीकृत नेकपा माओवादीका सचिव एवम संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा गठन भएको पुनःनिर्माण प्राधिकरणलाई नौटंकीको संज्ञा दिदै त्यसमा बस्नुको कुनै औचित्य नरहेको बताएका छन ।

सोमबार राजधानीमा आयोजित कार्यक्रमा उनले आफूहरुले अधिकार सम्पन्न स्वतन्त्र नवनिर्माण प्राधिकरणको कुरा गरेकोमा प्रधानमन्त्रीको नेतृत्वमा नौटंकीपूर्ण प्राधिकरण गठन गरेको आरोप लगाउँदै भने, ‘प्रधानमन्त्रीको नेतृत्वमा सरकार थिदै थियो नि, त्यसैले गरेको भए भईहाल्थ्यो, किन प्राधिकरण चाहियो । यसको औचित्य छैन हामी बस्दैनौ ।’

रायमाझीले प्राधिकरणको सृजनाकर्ता बरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई नै अध्यक्षता गर्न दिएको भए राम्रो हुने तर्क गर्दै तर भट्टराईले आफू अध्यक्ष बन्छु भनेर चाँही नभनेको स्पष्ट पारे ।

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पुनःनिर्माण सम्बन्धित मन्त्रालयले गर्ने कि प्राधिकरणले गर्ने भन्नेमा अन्यौलता भएको भन्दै नवगठित प्राधिकरण पूर्ण संयन्त्रको रुपमा गठन नभएको बताए । उनले भने, ‘विनासकारी भूकम्प आउना साथ प्राधिकरण गठन हुनुपर्नेमा ढिला भयो । ’

महतले एमाओवादी नेता टोपबहादुर रायमाझीले प्राधिकरणलाई नौटंकी नभन्न आग्रह गर्दै छिट्टै सहमतिको सरकार गठन हुने भएकोले एमाओवादीका तर्फबाट मन्त्री बन्नेहरु पनि प्राधिकरणको सदस्य बन्ने दाबी गरे ।

नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञावलीले पुनःनिर्माण प्राधिकरण गठन हुनु राम्रो भए पनि कसरी जाने भन्ने विषयमा सत्तापक्षले अरु दलसँग पनि छलफल गर्नु पर्नेमा नगरेको प्रति असन्तुष्टी प्रकट गरे ।
उनले भने, ‘प्राधिकरणमा एमाओवादी पनि समावेश हुनु पर्दथ्यो । अरु दलसँग पनि छलफल, सल्लाह गर्नुपर्दथ्यो ।’

विदेशीहरुको मात्र भर नपरी नवनिर्माण आफैले गर्नु पर्ने भन्दै ज्ञावलीले विदेशीहरुको सहयोग एकद्धार प्रणालीबाट हुने पर्नेमा जोडदिए । उनले भने, ‘हरेक देश र निकायलाई काम गर्न दिनु हुँदैन । एकद्धार प्रणालीबाट गर्नु पर्छ । दिनै पर्ने भए पनि सरकारसँगको समन्वयमा काम गराउनु पर्छ ।’


  •  
  •  
  •