साढे १९ सय विवादमा मेलमिलाप

725
  •  
  •  
  •  

handshakeधनगढी, ८ चैत (ओएनएस) : २० वटा सामुदायिक मेलमिलाप केन्द्रमार्फत कैलालीमा साढे १९ सय विवादमा दुबै पक्षको मेलमिलाप गरेर समाधान गरिएको छ ।

सन् २०१३ सेप्टेम्बरदेखि २०१६ जनवरीसम्म जिल्लाका विभिन्न गाविसमा स्थापना भएका २० सामुदायिक मेलमिलाप केन्द्रमार्फत १ हजार ९ सय ४५ विवाद दुबै पक्षको मेलमिलापबाटै समाधान भएको कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) कैलालीका कार्यक्रम संयोजक प्रेमबहादुर शाहीले जानकारी दिए ।

‘विवादलाई समाजमा नै समाधान गरी विवादलाई ठूलो रुप लिनबाट जोगाइन्छ ।’ कार्यक्रम संयोजक शाहीले भने– ‘केन्द्रले मेलमिलापको वातावरण सृजना गरिदिन्छ, प्रशिक्षित व्यक्तिहरूले दुबै पक्षलाई राखेर मेलमिलाप गर्छन् ।’

कार्यक्रम संयोजक शाहका अनुसार सो अवधिमा २ हजार २ सय २५ विवादका उजुरी परेकोमा १३ समाधानको प्रक्रियामा रहेका, १ सय ३३ मेलमिलापबाट समाधान हुन नसकेका, ८५ विवाद दर्ता भए पनि दोस्रो पक्ष उपस्थित नभएको र ४६ क्षेत्राधिकार भन्दा बाहिर रहेकाले सम्बन्धित निकायमा रेर्फर गरिएका छन् । ३ विवाद केन्द्रमा दर्ता भए पनि सम्बन्धित पक्षले आफै मेलमिलाप गरेका छन् ।

केही विवाद दर्ता भए पनि दोस्रो पक्ष उपस्थित नहुँदा समाधान गर्न नसकिएको जानकारी दिँदै कार्यक्रम संयोजक शाहीले सामुदायिक मेलमिलाप केन्द्रको क्षेत्राधिकार भन्दा बाहिरका ठूला प्रकृतिका विवादलाई प्रहरी समक्ष रेफर गर्ने गरिएको बताए ।

कैलालीका ११ गाविसमा प्रथम चरण र १० गाविसमा दोस्रो चरण गरी २१ गाविसमा साझेदारी विकास परियोजना अन्तर्गत सामुदायिक मेलमिलाप कार्यक्रम लागु भएको छ । ती २१ वटै गाविसमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएका छन् ।

सामुदायिक मेलमिलाप केन्द्रले देवानी प्रकृतिका अंशवण्डा, मानाचामल, सामान्य झै-झगडा लगायतका विवादमा दुवै पक्षबीच मेलमिलाप गराउँदै आएको छ । केन्द्रमा सबैभन्दा बढी विवाद जग्गा सम्बन्धि र लेनदेनका परेका छन् । तथ्यांक अनुसार सो अवधिमा १ हजार ९ सय ३७ विवाद जग्गा सम्बन्धि र लेनदेनका रहेका छन् । जसमा १ हजार ७ सय १६ विवादमा मेलमिलाप भएका छ । लैंगिक हिंसा सम्बन्धी १ सय २४ विवाद दर्ता भएकोमा १ सय ११ समाधान भएको, नागरिकता, जन्मदर्ता, विवाह दर्ता सम्बन्धि १४ विवाद दर्ता भएकोमा ११ समाधान भएको राजनीतिक द्वन्द्वको १ विवाद समाधान भएको र बाटोघाटो निर्माण, भवन निर्माण सम्बन्धि १ सय ४९ विवाद परेकोमा १ सय ६ समाधान भएको जनाइएको छ ।

२१ गाविसमा सञ्चालन भएका सामुदायिक मेलमिलाप केन्द्र मध्य सहजपुरमा भर्खरै सञ्चालनमा आएको संयोजक शाहीले जनाए । २१ मध्य पहिलो चरणमा सञ्चालित ११ सामुदायिक मेलमिलाप केन्द्र स्थानीय निकायमा हस्तान्तरण भइसकेको र बाँकी केन्द्र परियोजनाको अन्त्यमा हस्तान्तरण गरिने छन् ।

प्रथम चरण अन्तर्गतका धनसिंहपुर, नारायणपुर, थापापुर, मुनुवा, दुर्गौली, पथरैया, प्रतापपुर, चुहा, दोदोधरा, साडेपानी र मसुरिया गाविसमा सञ्चालित सामुदायिक मेलमिलाप केन्द्र स्थानीय निकायमा हस्तान्तरण भइसकेका छन् ।

साविकको रामशिखरझाला, पहलमानपुर, हसुलिया, बसौटी, गदरिया, सहजपुर, निगाली, खैराला, मोहन्याल र पण्डौन गाविसमा परियोजना मार्फत मेलमिलाप केन्द्र सञ्चालन भइरहेका छन् । सन् २०१७ सम्म परियोजना सञ्चालन रहने र उक्त अवधि भित्र बाँकी रहेका सामुदायिक मेलमिलाप केन्द्र स्थानीय निकायमा हस्तान्तरण गरिने उनले बताए ।


  •  
  •  
  •