काठमाडौ, १९ मंसिर(ओएनएस) : चर्चित स्पेनिस टोली रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिता खेल्न अयोग्य घोषित भएको छ ।
स्पेनिस फुटबल फेडेरेशनले अयोग्य खेलाडी खेलाएको भन्दै कारबाहीस्वरूप प्रतियोगिता खेल्नबाट वञ्चित गरेको हो । तर, रियल मड्रिडले यसका सम्बन्धमा अपिल गरेको छ र निर्णयमा उचित कदम चाल्ने विश्वास गरेको छ ।
गत बुधबार भएको काडीजसँगको पहिलो लिगमा अयोग्य रहेका खेलाडी डेनिस चेरिसेभलाई खेलाएको भन्दै रियललाई प्रतियोगिता खेल्नबाट वञ्चित गरिएको हो । उनी रियल आउनुअघि उनलाई एक खेलको प्रतिबन्ध लगाइएको थियो । तर, उनले व्यक्तिगत रूपमा आफूलाई लागेको प्रतिबन्धबारे रियलको व्यवस्थापनलाई जानकारी नदिँदा यस्तो अवस्था सिर्जना आएको रियल मड्रिडले जनाएको छ ।
रियल मड्रिडले काडिजसँगको खेलमा दोस्रो हाफमा नै खेलबाट बाहिर निकालेको थियो । आफूहरूले चेरिसेभलाई एक खेलको प्रतिबन्ध लागेको थाहा पाउने बित्तिकै खेलबाट बाहिर निकालेको भन्दै उक्त निर्णयबारे पुन:विचार गर्न फेडेरेशनलाई आग्रह गरेको छ ।
१९ पटकसम्म कोपा डेल रेको उपाधि जितिसकेको रियल यसपटक उपाधी दौडबाट पहिले नै बाहिरिएको छ साथै रियलले ६ हजार एक युरो जरिवाना समेत तिर्नु पर्नेछ ।