काठमाडौ, ७ साउन(एजेन्सी): रियल म्याड्रिडले कोलम्बियाका फरवार्ड जेम्स रोड्रोगेजलाई करिब ७१ मिलियन पाउण्डमा भित्राएको छ । रियल म्याड्रिडले ब्राजिलमा सम्पन्न विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने २३ वर्षीय जेम्स रोड्रिगेजलाई ७१ मिलियन पाउण्डमा छ वर्षका लागि अनुबन्ध गरेको हो ।
रोड्रोगेजले विश्वकपमा गोल्डेन बुट हात पारेपछि उनी रियल म्याड्रिडको आँखामा परेका हुन् । उनले विश्वकपका ५ खेलमा ६ गोल गरेका थिए । उनकै ६ गोलको मद्दतले कोलम्बिया विश्वकपको क्वाटरफाइनलसम्म पुग्न सफल भएको थियो । उनले उरूग्वेविरूद्धको खेलमा गरेको गोल नै विश्वकपको उत्कृष्ट गोल समेत घोषित भएको थियो ।
रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भने, ‘उनले निकै राम्रो खेल खेले र उनका गोलहरूले उनलाई विश्वकपको एक उत्कृष्ट फुटबलरको रूपमा उभ्याएको छ ।’
रोड्रिगेजको स्थानान्तरण रियल म्याड्रिडको चौथो महंगो स्थानान्तरण हो । रियल म्याड्रिडले गेराथ बेल र क्रिष्टियानो रोनाल्डोलाई टोलीमा भित्राएको सबैभन्दा धेरै खर्च गरेको थियो भने यसपछि सबैभन्दा महंगो रकममा भित्रिने खेलाडी बनेका छन्, रोड्रिगेज ।
रोड्रोगेजले रियल म्याड्रिडमा भित्रिएपछि भनेका छन्, ‘म धेरै खुसी छु, मेरो सपना सत्य भएको छ । म आशा गर्छु की म मेरा र टोलीका प्रशंसकहरूलाई निकै खुसी बनाउने छु र टोलीलाई धेरैभन्दा धेरै उपाधी दिलाउन सफल हुनेछु ।’