बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम, रियलसँग पराजित

266
  •  
  •  
  •  

काठमाडौँ, २१ चैत(ओएनएस) : स्पेनिस ला लिगाको गयराती सम्पन्न खेलमा बार्सिलोना पराजित भएको छ । पराजयसँगै बार्सिलोनाको ३९ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

चीरप्रतिद्वन्द्वी रियल मड्रिडसँगको खेलमा बार्सिलोना पराजित भएको हो । आफ्नै घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोना रियल मड्रिडसँग १-२ गोलअन्तरले पराजित भएको हो । खेलमा अग्रता बार्सिलोनाले लिएपनि त्यसलाई कायम राख्न नसक्दा बार्सिलोना पराजित भएको हो ।

खेलको पहिलो हाफमा बार्सिलोनाले केही राम्रा मुभहरू बनाएपनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । तर, खेलको ५६ औँ मिनेटमा बार्सिलोनाले जेरार्ड पिक्युको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ६२ औँ मिनेटमा करिम बेन्जिमाले गोल फर्काए र खेललाई बराबरीमा ल्याइपुर्‍याए ।

खेलको ८३ औँ मिनेटमा रामोसले रातो कार्ड पाएपछि रियल मड्रिड १० खेलाडीमा सिमित भएको थियो । तर, खेलको ८५ औँ मिनेटमा रियलका लागि रोनाल्डोले गोल गर्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएका थिए ।

जितपछि रियल मड्रिडले ३१ खेलबाट ६९ अंक जोडेर तेस्रो स्थानमा नै रहेको छ भने बार्सिलोना हारका बाबजुत ७६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यस्तै, एथ्लेटिको मड्रिड अंक तालिकाको दोस्रो स्थानमा रहेको छ र ७० अंक छ ।

यस्तै, गयराती नै सम्पन्न खेलमा एथ्लेटिकोले रियल बेटिसलाई ५-१ गोलअन्तरले पराजित गरेको छ । यता भ्यालेन्सिया भने लास पाल्माससँग २-१ गोलअन्तरले पराजित भएको छ ।


  •  
  •  
  •