गाभिएका प्रहरी चौकी पुनस्थापना गरिँदै

143
  •  
  •  
  •  

धनगढी, २० कात्तिक (ओएनएस) : अढाई महिना अघि गाभिएका कैलालीका केही प्रहरी चौकी पुनस्थापना गरिने भएको छ । गत भदौ ७ गते टीकापुरमा भएको हिंस्रक घटनापछि नजिकैको ईलाका प्रहरी कार्यालयमा गाभिएका जिल्लाका विभिन्न क्षेत्रमा प्रहरी चौकी पुरानै स्थानमा सार्न थालिएको कैलालीका प्रहरी प्रमुख, एसपी राजेन्द्र विष्टले जानकारी दिए । जिल्लाको सुरक्षास्थित सामान्य बन्दै गएपछि प्रहरी चौकी पुनस्र्थापना गर्न थालिएको एसपी विष्टले बताए ।

ईलाका प्रहरी कार्यालय जोशीपुरमा मर्ज भएको जनकपुर प्रहरी चौकी पुरानै स्थानमा सारिएको र अन्य प्रहरी चौकी पनि पुनस्थापना गर्ने काम भइरहेको एसपी विष्टले बताए । टीकापुरमा भएको घटनामा नेपाल प्रहरीका एक एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालक मारिएपछि स्थानीय प्रशासनले सुरक्षाको दृष्टिले संवेदनशिल क्षेत्रमा रहेका प्रहरी चौकी नजिकै रहेका ईलाका प्रहरी चौकीमा मर्ज गरेको थियो ।

स्थानीय प्रशासनले थापापुरस्थित जनकपुर प्रहरी चौकी, खैलाडस्थित गञ्जहुवा प्रहरी चौकी, रामपुर प्रहरी चौकी र छोटकीपलिया प्रहरी चौकी नजिकैका ईलाका प्रहरी कार्यालयमा मर्ज गरेको थियो ।

आन्दोलनको क्रममा थरुहट पक्षद्वारा तोडफोड भएको रामपुर प्रहरी चौकी मर्मत सम्भार भइरहेको र चाँडै सो चौकीमा प्रहरी बस्ने उनले बताए । आन्दोलनका क्रममा थरुहट पक्षले जिल्लाका ३ गाविस कार्यालयसहित छोटकी पलिया प्रहरी चौकीमा आगजनी गरेका थिए । भने रामपुर र गञ्जहुवा प्रहरी चौकीमा तोडफोड गरेका थिए ।

एसपी विष्टले जिल्लाको सुरक्षास्थित सुदृढ हुँदै गएको र ग्रामीण क्षेत्रमा रहेका जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी चौकी पुनस्र्थापना गर्न थालिएको बताए ।

‘प्रहरी चौकीनै असुरक्षित बनेपछि तत्कालका लागि नजिकैका ईलाका प्रहरी कार्यालयमा सारिएको थियो ।’, उनले भने, ‘यद्यपी, ति क्षेत्र आउट अफ सेक्रटी भन्दा बाहिर रहेका थिएनन् ।’

घटना पश्चात थरुहट/थारूवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरीले आगजनीका घटनाहरू थरुहट पक्षले गरेको जिम्मेवारी लिएका थिए ।


  •  
  •  
  •