काठमाडौ, १७ पुस : एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले राष्ट्रिय सरकार नबनी माघ ८ गते संविधान आउनै नसक्ने ठोकुवा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले दलहरुबीच अहिले राष्ट्रिय सहमतिको सरकार गठन गर्न आन्तरिक गृहकार्य भईरहेको खुलासा समेत गरे । साक्षात्कारमा रायमाझीले संविधान सहमतिमै जारी गर्नुपर्ने अडान ब्यक्त गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिमा आए माघ ८ मै संविधान जारी गर्न सकिने विश्वास समेत ब्यक्त गरे ।
उनले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष ओलीको कारणले संविधान आउन नसकेको भन्दै उनीहरू काशी जान कुतिको बाटो हिडेको भन्ने टिप्पणी गरे ।
उनले अहिलेकै अवस्थामा माघ ८ मा संविधान आउन नसक्ने भन्दै राष्ट्रिय सहमतिको सरकार गठन हुन सके माघ ८ मा मस्यौदा ल्याएर केही समयपछि संविधान जारी गर्ने योजना सुनाए । उनले भने, ‘माघ ८ सम्म सहमति गर्न सक्छौ ।’
रायमाझीले माघ ८ मा संविधान ल्याउन नसके सत्तारुढ दलहरुलाई सत्ता छाड्ने नैतिक दवाव आउने समेत स्मरण गराए । उनले पार्टीको अबको अध्यक्ष डा. बाबुराम भट्टराई हुने सहमति भएको भन्दै अब भट्टराईको क्षमता, कार्यकुशलताको बलमा पार्टी अघि बढ्ने विश्वास ब्यक्त गरे । यस विषयमा अध्यक्ष प्रचण्डसँगै सहमति भईसकेको उनको भनाई थियो ।
नेपाली काग्रेसका सभासद अर्जुन प्रसाद जोसीले संविधानसभालाई घेराउ गरेर भए पनि माघ ८ गते संविधान ल्याई छाड्ने उद्घोष गर्दै संविधानसभालाई शीर्ष नेताहरुको बन्धक बन्न नदिने चेतावनी दिए ।
शीर्ष नेताहरूले जनादेशलाई नस्विकारेको भन्दै संविधान भागबण्डामा नभई लोकतान्त्रिक विधी प्रक्रियाबाट जारी हुनु पर्ने बताए । उनले एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार संविधान नल्याउन लागि परेको आरोप समेत लगाए ।
नेकपा एमालेका डा. राजन भट्टराईले यूवाहरू माघ ८ मै संविधान जारी गराउनको लागि जे पनि गर्न तयार रहेको भन्दै संविधानसभा भवनमै अनसन बस्न समेत तयार रहेको घोषणा गरे । उनले शीर्ष नेताहरुलाई दवाव सृजना गर्ने भन्दै त्यसको लागि उनीहरूलाई घेराउ गर्ने चेतावनी दिए ।
माघ ८ भित्र संविधान ल्याउन सम्भव भएको भन्दै सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने बताए । उनले एमाले र काग्रेसले प्रस्तुत गरेको नौ बुँदे साझा प्रस्तावको विकल्प एमाओवादी मोर्चाले दिन नसकेर उल्टै आरोप अरू दललाई लगाएको दावी समेत गरे ।
फोरम नेपालका मुख्य सचेतक डा. शिवजी यादवले जनतालाई अब पनि झुक्याईरहन नहुने भन्दै माघ ८ गते कुनै पनि हालतमा संविधान नआउने घोषणा गरे । उनले माघ ८ गतेभित्र सहमति भएर जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधान जारी गर्ने गरी छलफल भईरहेको जानकारी समेत साक्षात्कारमा दिए ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले माघ ८ मा संविधान आउन नदिएर संविधानसभा विघठन गर्न एमाओवादी र मधेसवादी दलहरु लागिपरेको आरोप लगाए । माघ ८ मा अब संविधान आउन नसक्ने भन्दै संविधान संविधानसभाबाट जारी गर्ने भए प्रचण्डलाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने तर्क गरे ।
अहिलेको झगडा पदको भएको भन्दै संघीयता काग्रेस र एमालेलाई र संविधानसभा एमाओवादीलाई घाडो भएको टिप्पणी गरे । उनले संविधानसभामा अनसन बस्ने कुरा लाजमर्दो भएको भन्दै शीर्ष नेताहरुको घरमा धर्ना दिन सुझाव दिए ।