राष्ट्रिय हित विपरित काम गरेकाले राजदूत फिर्ता : मन्त्री रावल

125
  •  
  •  
  •  

काठमाडौँ, २५ बैशाख(ओएनएस) : उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले राष्ट्रिय हित विपरित काम गरेकोले भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ राजदुत जस्तो ब्यक्तिले अर्को देशमा काम गर्दा आफ्नो देशको अनुहार हेरेर सरकारको नीति निर्देशन र कुटनीतिक मर्यादा कायम राख्न सक्नु पर्छ । परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई कार्यक्षेत्र छाड्ने, तराई जस्तो आन्दोलन भईरहेको संवेदनशील क्षेत्रमा अर्को देशका राजदुतसँग कार्यक्रममा संलग्न हुँदै हिड्ने र सरकार फेरबदलको प्रसंगमा उनको संलग्नताको कुरा आएको छ । यस्ता गम्भिर विषयहरु आएपछि फिर्ता बोलाईएको हो ।’

उनले राजदुतले के काम गर्ने भन्ने मान्यता र कुटनीतिक मर्यादा विपरित जान नहुने भन्दै यस्तो संवेदनशील विषयमा राजदुतलाई फिर्ता बोलाउन स्पष्टीकरण लिनु पर्ने वा सोध्ने पर्ने आवश्यकता नभएको दावी गरे ।

सञ्चारकर्मीको जिज्ञासामा रावलले राजदुत फिर्ता भारतसँगको सम्बन्धमा फायर खोल्ने भन्दा त्यसलाई रोक्न भएको दावी गर्दै सरकारले भारतसँग सुमधुर सम्बन्ध राख्न चाहेकोले सम्बन्ध र समझदारीलाई अझै राम्रो र विकसित गर्न फिर्ता बोलाउनु परेको तर्क गरे ।

कुटनीतिक कारण नभई आन्तरिक कारणले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको जानकारी दिदै रावलले भने,‘ देशमा संसद चलिरहेको छ, राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पर्ने छ, सरकार परिवर्तनको चर्चा चलिरहेको थियो, कानून निर्माणको कुरा छ यस्तोबेलामा राष्ट्रपतिको उपस्थिति आवश्यक देखेर भ्रमण स्थगित गरिएको हो ।

उनले राष्ट्रपतिको भ्रमण स्थगित हुनुको पछाडि राजदुत फिर्ता प्रकरणसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै मुलुक अप्ठ्यारोमा रहेको बेला सरकार प्रमुख र राष्ट्रप्रमुखको भ्रमण स्थगित गर्ने अन्तर्राष्ट्रिय प्रचलन नै भएको बताए ।

उपप्रधानमन्त्री रावलले नौ बुँदेमा सहमति अनुसार अर्को निर्वाचनसम्म यो गठबन्धन अगाडि बढ्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली काग्रेससहितका दलहरुले सहमति गर्नासाथै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पारे ।


  •  
  •  
  •