राउटे बस्तीमा औषधी लैजाँदा

105
  •  
  •  
  •  

काठमाडौं २५ असोज ।
दैलेखस्थित बराह गाविसको जंगलमा रहेको राउटे बस्तीमा शुक्रबार मध्यान्ह एक हुल मानिस पसे। केहीछिनमै पालभित्र आराम गरिरहेका महामुखियालगायत केही राउटे बाहिर निस्किए।

हातहातमा ठुल्ठूला काटुन बाकेका देखेर नासो बाँड्न ल्याएझैं देखेपछि राउटेहरू उत्साहित भए। केहीछिनमै बस्तीको बीचमा रहेको सानो चउरमा काटुन राखेर टोलीले ‘राउटे मुखिया खै?’ भनेर सोध्यो।
‘मै त हुँ मुखिया’ महामुखिया महिनबहादुर शाही टोलीनजिक उभिए। केही राउटे काटुनभित्र के होला भन्दै नजिकै घेरिएर उभिएका थिए। उपचारका लागि राउटे बस्तीमा जिल्ला स्वास्थ्य कार्यालय दैलेखबाट पुगेका स्वास्थ्यकर्मीले आफुहरू बस्तीमा बिरामी भएकाहरूको उपचारका लागि आएका भन्दै काटुनबाट औषधी निकाल्न थालेपछि उनीहरू एकछिन त जिल्ल परे!
‘खानेकुरा ल्याएको होला भनेको त औषधी पो ल्याएछ,’ एक राउटे युवकले अच्चमित हुँदै भने, ‘जनताहरू कोही बिरामी छैनन्, त्योभन्दा खानेकुरा ल्याएको भए बेस हुन्थ्यो।’ आफ्ना जनताका लागि औषधी तत्काल आवश्यक नभएको राउटे महामुखिया महिनबहादुर शाहीले बताएपछि स्वास्थ्यकर्मी नगेन्द्र हमालले राउटे बस्तीका लागि एक प्याकेट जुकाको औषधी महामुखियाको हातमा थमाए। औषधीको प्याकेट हातमा लिएर महामुखिया शाही आफ्नो छाप्रोतिर गए।
‘पेटमा जुका छ भनेर औषधी दिए,’ महामुखिया शाहीले नागरिकसँग भने, ‘जनतासँग सोधेर मात्र औषधी खाने–नखाने भन्ने हुन्छ।’
राउटे बिरामी छन् भनेर औषधी उपचारका लागि आए पनि उनीहरूलाई सन्चो भइसकेको स्वास्थ्यकर्मी हमालले बताए। ‘राउटेहरूको पेटमा जुकाको समस्या नहोस् भनेर औषधी दिएका छौं,’ उनले भने, ‘हाम्रो उपस्थितिमा नखाए पनि पछि खानेगरी मुखियाको हातमा दिएका छौं।’
हप्ता दिनअघि बिरामी भएका केही राउटेका लागि गएका स्वास्थ्यकर्मीले दिएको औषधी खान नमानेपछि स्वास्थ्यकर्मीले जुकाको औषधी महामुखियाको जिम्मा लगाएर फर्किनु परेको हो। राउटे बस्तीमा पुगेका स्वास्थ्यकर्मीलाई आफुहरू निको भइसकेको भन्दै औषधी उपचार गर्न राउटेहरूले नमानेका हुन्। दसैंअघि बिरामी भएका केही राउटे निको भइसकेको भन्दै राउटे महामुखिया महिनबहादुर शाहीले आफ्ना जनतालाई औषधीको आवश्यकता नभएको भनेपछि स्वास्थ्यकर्मीले लगेको औषधी जिल्लामै फर्काइयो।
दसैंका बेला विदेशीहरूले राउटे बस्तीमा फिल्म सुटिङ गरेबापत राउटे प्रतिपरिवार १० हजारका दरले ४ लाख रुपैयाँ दिएका थिए। त्यस्तै सरकारले पनि यसपालि उनीहरुलाई दसैं खर्चबापत १० हजार रुपैयाँ दिएको थियो। यसअघि उनीहरूले मासिक भत्ताबापत प्रतिव्यक्ति हजार रुपैयाँ पाउँदै आएका थिए।
नागरिकबाट


  •  
  •  
  •