राउटेको पनि आयो दसैं

83
  •  
  •  
  •  

काठमाडौं, १३ असोज : कोही छाप्रो बनाउन त कोही दसैंका लागि सरसामान जुटाउन व्यस्त । बालबच्चादेखि बूढापाका सबै कुनै न कुनै काममा देखिन्थे । आपसमा कोही गफिएका थिएनन् । मासुका लागि किनेर ल्याएका खसीबाख्रा र कुखुराले गर्दा राउटे पशुपालनमा जमेको जस्तै देख्न सकिन्थ्यो । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायलाई यतिबेला दसैंको चटारोले छोइसकेको छ । घटस्थापनाको दुई दिनअघि गोगनपानी जंगलबाट छिमेकी बराह गाविसको सातसल्लीमा बसाइँ सरेका उनीहरू नयाँ बस्तीमा दसैं मनाउँदैछन् । दसैंको मुखमा बसाइँ सरेकाले राउटेलाई छाप्रो यतिबेलै सजाउनुपरेको हो । सल्यान, दाङ, सुर्खेतका हुँदै राउटे दैलेख आइपुगेका हुन् ।

सरकारले पहिलोपल्ट दसैं खर्चका लागि दिएको पैसा राउटेले शनिबार बुझे । भेट्न केहीअघि राजधानी आइपुगेका राउटेको गुनासो सुनेपछि प्रधानमन्त्री सुशील कोइरालाले प्रतिपरिवार १० हजार रुपैयाँ दसैं खर्चको दिन निर्देशन दिएका थिए । दसैं खर्च पाएपछि राउटे खुसी छन् । पैसा बुझेपछि धेरैले केहीबेर पैसा गनिरहे । र, कम्मरमा बाँधेको सानो झोलाभित्र सुटुक्क राखे । घरमूली बाआमाले हजार रुपैयाँका नयाँ-नयाँ नोट गनिरहँदा बालबच्चा अनौठो मानेर हेरिरहेका थिए ।

मुखिया ऐनबहादुर शाहीले सिकार, चामल, नुन, तरकारी किनेर सदुपयोग गर्ने बताए । ‘सिकार, चावल, तिउन किन्छौं । आजभोलि राउटेले मागेर खान सक्दैन । कसैले दिन्न,’ दसैं खर्च वितरण गर्न पुगेका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीको टोलीसँग भने, ‘बाँदर भेटिन्नन् । सिकार त दसैंमा नभई नहुने हो । अब यो पैसाले खसी किन्न हुने भयो ।’ वनजंगल विनाशका कारण पछिल्ला केही वर्षयता जंगलमा बाँदर भेटिन छाडेका छन् । बाँदर नपाएपछि उनीहरूले खसीबाख्रा र कुखुराको मासु खान थालेका हुन् । आफ्ना काठका सामग्री बिक्न छाडेपछि भत्ताकै भर पर्नुपरेको गुनासोसमेत उनीहरूले गर्न भ्याए ।

अन्य समुदायजस्तै राउटेले पनि दसैंको राम्रो तयारी गरेका छन् । दसैंमा पुरुषले लामो कपाल खौरिने गर्छन् । दसैं अवधिभर अत्यधिक जाँड र मासु खाई रमाइलो गर्छन् । दसैंका दिन कुल देवताको पूजा गर्छन् । टीका भने सेतो लगाउँछन् । चामल पानीमा भिजाएर ठूलाले सानाको निधारभरि टीका लगाइदिन्छन् । आफ्नै भाषा ‘खाम्सी’ मा गीत गाउँछन् । नाच्छन् । टीकाको दिन बली पनि दिने चलन छ । हाल ४० घरधुरी रहेको यो समुदायको जनसंख्या १ सय ४२ छ । ठकुरी जातिको यो समुदायमा रास्कोटी, कल्याल र सोवंशी छन् । सबैभन्दा बढी रास्कोटी छन् । सगोत्रीमा बिहे गर्ने चलन राउटेमा पनि छैन । त्यसैले धेरै युवायुवतीको उमेर ढल्किसक्दासमेत बिहे हुन सकेको छैन ।

सबैभन्दा ज्येष्ठ बेतनी

अन्य समुदायझैं राउटेमा पनि सबभन्दा ज्येष्ठ सदस्यको हातबाट टीका थाप्ने चलन छ । बस्तीमा कपाल फुलेर सेतै भएकी एउटी बूढी छन्, सय वर्षीया बेतनी शाही । पूर्वमुखिया महिनबहादुर शाहीकी सासू हुन्, बेतनी । उनका ७ वटै छोरा अल्पायुमै बिते । कोही सिकार खेल्न जाँदा भीरबाट खसे त कोही हिँड्दाहिँड्दै ठेस लागेर उछिट्टएि । उपचार गर्ने संस्कार थिएन । त्यसैले घाइते निको हुन नसकेपछि जिउँदै गाडिन्थे । छोरा गाडिएको पीडा भए पनि उनको खाइलाग्दो शरीर छ ।

 राउटेमा विधवा विवाह गर्ने संस्कार छैन । उनलाई ज्वाइँ महिनबहादुरले पालेका छन् । ‘अरूले एक्ली बूढीआमा भनेर खानेकुरा दिन्छन्,’ पूर्वमुखिया महिनबहादुरले भने, ‘चाडपर्वमा सासूको मानमर्यादा धेरै हुन्छ । सबैले उनकै हातबाट टीका थाप्छन् । यसपालिको दसैंमा पनि सन्तानले उनैबाट टीका थापेर आशीर्वाद लिन्छन् ।’ बेतनी अरू राउटे-राउटेनीजस्तो नेपाली बोल्न जान्दिनन् । विधवा भएकाले गाउँ डुल्नु परेन । त्यसैले अन्य समुदायसँग घुलमिल हुन पाइनन् । छाप्रामै हुक्का तानेर दिन बिताउँछिन् ।

कान्तिपुर दैनिकबाट


  •  
  •  
  •