बन्चरोले जुँगा काट्छन् राउटे

315
  •  
  •  
  •  

काठमाडौं २९ भदौ ।
आफ्ना ‘जनता’ का लागि खाद्यान्न जोहो गर्न गत सोमबार दैलेखको घोडाबास जगंलबाट सुर्खेत हुदै राजधानी आइपुगेका चार जना राउटे लाई शनिबार कलंकीस्थित एलआरआई उच्च माविको भ्रमणमा पुगेकाबेला विद्यार्थीहरुले सोधे । ‘ राउटे दाई तपाइहरु जुगाँ, दाह्री र नङ केले काट्नुहुन्छ ?’

विद्यार्थीको प्रश्नमा मुखिया सुर्जेनारायण शाहीले माइक्रोफोनबाट बोल्दै भने, ‘बासुलो/बन्चरोले दाह्री ताछ्म्म । नङ काट्छम्म,’ यो जवाफले आश्चार्यचकित बने विद्यार्थी । मुखियाले यसै प्रश्नमा उत्तर थपे, ‘अहिले केहीले दाह्री काट्न ब्लेट र नङकाटो पनि चलाउछन तर बासुलो र बन्चरो छाडीसकेका छैनौ, त्यही सजिलो लाग्छ। । पुर्खादेखी चलेको ।’

‘मोबाइल तथा घडी र तमाखु लिनुपरे कुन छान्नुहुन्छ ?’ राउटे लाई विद्यार्थीहरुबाट अर्को प्रश्न सोधियो । उत्तरमा राउटे मुखियाले भने, ‘तपाईको मोबाइल घडीले के गर्ने त्यो तपाई नै राख्नुहोस तमाखु भए लैजाउला,’ स्कुलको हलमा भेला भएका विद्यार्थीहरु मुखियाको जवाफले चकित पर्दै हाँसे । ‘हामीलाई मोबाइल, घडीको के काम ? पिता पुर्खाले नगरेको काम हामी गर्दैनौ । तखामु हाम्रो अम्मल हो । तपाईहरु खुसी भएर तमाखु, सुर्ती दिनुहुन्छ भने लिइदिम्ला ।’

कबिलामा बस्न नरुचाउने फिरन्ते राउटे को जवाफले एलआरआईका मात्र नभई त्यहा भैरहेको उपत्यकाव्यापी बासकेटबल प्रतियोगीतामा आएका राजधानीका अरु विद्यालयका विद्यार्थी पनि चकित परे । शनिबार एलआरआई स्कुलमा राउटे समुदाय र विद्यार्थीबिच भएको दोहोरो अन्र्तक्रिया जति रोचक सुनिन्थ्यो । त्यो भन्दा रोचक राउटे मुखियाले आफ्नो समुदायबारे विद्यार्थीहरुका जिज्ञाषामा भनेका उत्तर गम्भीर थिए ।

राउटे को रहनसहन आनीबानी सुनेर चकित परेका विद्यार्थीले उनीहरुको नुहाउने प्रचलन, आनीबानी, छोराछोरीलाई गर्ने व्यवहार, उपचार विधी, सन्तान, भगवान, खानपान, दैनिकी र जंगलको बासबारे प्रश्न गरेका थिए । ‘यसअघि यस्तो अन्र्तक्रिया कहिल्यै भएको थिएन,’ विद्यालयका प्रधानाध्यापक डा. देवकान्त जोशीले भने । गुठी प्रणालीमा संचालित स्कुलले आफ्नो २६ वर्षकै इतिहासमा भएका थुप्रै कार्यक्रममध्ये राउटे सँग भएको कार्यक्रमलाई सबैभन्दा पृथक भन्यो । ‘हाम्रो विद्यालयमा हजारौ मानिसहरु आए तर राउटे दाजुभाईको आगमन हाम्रो इतिहासकै पहिलो पृथक कार्यक्रम हो, जून आगामी धेरै वर्षसम्म स्मरणीय भैरहनेछ,’ प्रधानाध्यापक जोशीले विद्यार्थीहरुसँग भैरहेको अन्र्तक्रियमा भने ।

उनले राउटे मुखियासँग आएका १२ वर्षका कलम शाही र १४ वर्षका दिपक शाहीलाई उच्च माध्यामिक तहसम्मै अध्ययन गराउन प्रस्ताव गरे । तर ती दुई किशोरका साथसाथै मुखिया सुर्जेनारायणले पनि प्रधानाध्यापकको प्रस्तावलाई ठाडै अस्विकारे । ‘हाम्रो जनताले स्कुल पढ्नु राम्रो होइन,’ खेती नगर्ने, एकै ठाउमा नबस्ने आदत भएको राउटे का मुखियाले भने ।

विद्यालयमा भैरहेको बासकेटबल प्रतियोगितामा छात्राहरुले खेलेको दृश्यले चकित परेका राउटे लाई विद्यार्थीहरुले सोधेका थिए । ‘के तपाईहरु छोराछोरीबिच भेदभाव गर्नुहुन्छ ?’ मुखियाले आफ्नो समुदायमा छोरीलाई भेदभाव नहुने तर विहे हुदा दाइजो दिने गरेको सुनाए । ‘ छोराछोरी हाम्रालागी बराबर हो । छोरीको विहे हामी दाइजो दिएर गर्छौं,’ मुखियाले यसो भनेपछी विद्यार्थीहरुलाई जिज्ञाषा लाग्यो दाइजो के दिदारहेछन भन्नेबारे ? मुखियाले विहे गरी दिदा छोरीलाई काठका भाडा कोषी, सन्दुस, भकारी र ज्वाईकालागी काठ काट्न प्रयोग हुने बासुलो, बन्चरो, आरी लगायत भलामका परम्परागत गाउले हतियार दिने गरेको सुनाए । दैलेख, सुर्खेतका बनलाई बर्षौदेखी थातथलो बनाउदै आएको राउटे समूदायले यस्ता फलामे उपकरण नजिकैका गाउमा आरनमा गई बनाउने किन्ने गर्छन । सन्तान जती जन्मिन्छन् त्यसलाई भगवानको बरदान ठान्ने गरेको बताउदै मुखियाले परिवार नियोजनका साधान र बिरामी हुदा सुई कहिल्यै प्रयोग नगरेको र नगर्ने बताए ।

यसपटक मध्यपश्चिममा आएको अबिरल वषर्ा र बाढीका कारण जंगलमा बसोबास गर्ने लोपउन्मुख राउटे ले गाउबाट संकलन गरेको अन्नपात बर्खाले नष्ट गरेपछी उत्पन्न भोकमरीले राउटे बस्तीमा केटाकेटी, महिला लगायतले पेटभरी छाक टार्न नसक्ने भएपछी मुखिया सुर्जेनारायण प्रधानमन्त्री शुशिल कोइरालालाई भेट्न बुधबार तीनजना ‘जनता’ का साथ राजधानी आइपुगेका हुन् । उनीहरुलाई एलआरआई स्कुल र विद्यार्थीले नजिकिदै गरेको दशैकालागी करिब १० हजार रुपैयाँ संकलन गरी सहयोग गरेका थिए । आइतबार अर्थमन्त्री रामशरण महतको निर्देशन पाइसकेका मुख्यसचिव लिलामणी पौडेलले राउटे हरुलाई राहत उपलब्ध गराउदैछन् । सरकारले दिने राहत पाएपछी उनीहरु आइतबारै दैलेख फर्किदैछन् ।
कान्तिपुरबाट


  •  
  •  
  •