चिट चोराउने महिला सहित ८ निरीक्षक निस्काशित

291
  •  
  •  
  •  

Rautahatरौतहट, ८ चैत(ओएनएस)  : एसएलसी परीक्षामा चिट चोराउँदै गरेको अवस्थामा रौतहटमा एक महिला सहित ८ जना निरीक्षक निष्काशित गरिएको छ ।

जिल्लाका जनता उच्च माध्यमिक विद्यालय कटहरिया, सरस्वती उच्च माध्यमिक विद्यालय खेसरहिया, जयकिसान उच्च माध्यमिक विद्यालय धरहरी र शंकर माध्यमिक विद्यालय सरमुजवा, र बसन्तपट्टी परीक्षा केन्द्रमा खटिएका एक महिलासहित ८ जना निरीक्षकलाई चिट चोराउँदै गरेको अवस्थामा जिल्ला परीक्षा अनुगमन समितिले रंगेहात पक्राउ गरेपछि निष्कासन गरेको हो ।

प्राथमिक विद्यालय कर्कच पिपराका शिक्षक अन्जनी कुमार निधी र प्रावी जिंगडवाका शिक्षक वीरेन्द्र चौधरीलाई सरस्वती उमावी खेसरहिया परीक्षा केन्द्रबाट निस्काशित गरेको हो  । यस्तै जनता उमावी कटहरियाका शिक्षक रोशनप्रसाद साह र उमावी खेसरहियाका शिक्षक पवन यादवलाई जयकिसान उमावि धरहरी परीक्षाकेन्द्रबाट, जनता उच्च माध्यमिक विद्यालय कटहरिया परिक्षा केन्द्रबाट विर्ती प्रस्टोकाका शिक्षिका रेणु चौधरी र शंकर मावी परिक्षा केन्द्रबाट काशी राम दासलाई विद्यार्थीहरुलाई चिट चोराउँदै गरेको अवस्थामा पक्राउ गरि निस्काशित गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बसन्तपटि परीक्षाकेन्द्रमा कार्बन कपी गरेर चिट चोराउँदै गरेको अवस्थामा दुई निरीक्षकलाई निष्काशन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले ब्लाक बोर्ड पछाडी र ढोकामा चिट लुकाउन, कार्बन कपी गरेर चिट चोराउँदै गरेको र सिकाउनमा व्यस्त अवस्थामा बसन्तपटि परीक्षाकेन्द्रका निरीक्षकलाई भेटेपछि निष्कासन गरिएको हो ।

यसैबीच रौतहटको शुभलाल उमावी सुन्तपुर परीक्षाकेन्द्रमा परीक्षा दिँदै गरेकी एक छात्रा छारे रोगका कारण परीक्षाहलमै बेहोस भएकी छन्। जीनज्योती उमावीकी छात्रा कुन्ता राई छारे रोगका कारण परीक्षाहलमै बेहोस भएकी छन् । कुन्ताको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जारी रहेको परिक्षाको तेश्रो दिन परिक्षा केन्द्र भित्रै फोटोकपी तथा कार्बन कपी गरिएका उतरहरु फेला परेको छ । परिक्षामा खटेका निरिक्षक तथा गार्डहरुले नै विद्यार्थीहरुलाई चिट पुर्‍याइ रहेका छन् ।


  •  
  •  
  •