राष्ट्रियसभाको अध्यक्षमा गणेश तिमिल्सिनाकाे उम्मेदवारी

233
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नेता गणेश तिमिल्सिनाको राष्ट्रियसभा अध्यक्ष पदमा एक्लो उम्मेदवारी परेको छ।

संसद सचिवालयले उम्मेदवारी दर्ताको लागि आज दिउँसो एक बजेसम्मका लागि दिएको समयसीमाभित्र एमाले उम्मेदवार तिमिल्सिनाले मात्र उम्मेदवारी दर्ता गराएको संसद सचिवालयले जनाएको छ।

अपराह्न साढे १२ बजे संसद भवनमा पुगेर तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका थिए। तिमिल्सिनाको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा दिनानाथ शर्मा र सुमनराज प्याकुरेल रहेका छन्।
पहिलो पटक संसदमा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्षका तिमिल्सिनालाई राष्ट्रिय सभाको अध्यक्ष बन्ने अवसर जुरेको हो।

राष्ट्रिय सभाको अध्यक्षका लागि माधव नेपाल समूहका परशमेघी गुरुङपनि प्रतिस्पर्धामा थिए। तर बाजी तिमिल्सिनाले मारेका छन्।

प्रदेश ४ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका तिमिल्सिना यसअघि कुनै राजकीय जिम्मेवारीमा थिएनन्।

५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका २७ र माओवादी केन्द्रका १२ र मनोनित ३ जना सदस्य वामगठबन्धन सम्बद्ध भएकाले तिमिल्सिनाले सहज विजय हासिल गर्ने स्थिति छ।

आगामी बुधबार चुनावी प्रक्रियाबाट नतिजाको औपचारिक घोषणा हुनेछ।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्ने पक्का देखिएको छ। एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ।


  •  
  •  
  •