‘मिडिया काउन्सिल विधेयक’ राष्ट्रियसभामा पेश

224
  •  
  •  
  •  

काठमाडौं । सरकारले ‘मिडिया काउन्सिल विधेयक २०७५’ लाई राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक पेश गरेका हुन् ।

गत वैशाखमा राष्ट्रियसभामा पेश भएको विधेयक नेपाल पत्रकार महासंघ लगायतले चरणबद्ध आन्दोलन गरेपछि अघि बढेको थिएन ।

सबै मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई दिन विधेयक ल्याइएको दाबी सरकारको छ भने पत्रकार महासंघ लगायतले मिडिया काउन्सिल विधेयक सच्याउनुपर्ने माग राख्दै आएका छन् ।

विधेयक पेस गर्दै सञ्चारमन्त्री बाँस्कोटाले विधेयकलाई अझ बढी राम्रो बनाउने कुरामा सोच्न सकिने बताए ।
बाँस्कोटाले भने, ‘विधेयकमा केही आधुनिक कुरा छन् खराब मात्रै छैन । विधेयक फिर्ता लिनुपर्ने कारण छैन ।’
यसैबीच कांग्रेसले विधेयकमाथिको विरोधको सूचना पनि फिर्ता लिएको छ ।

सांसद राधेश्याम अधिकारीले सूचना फिर्ता लिएपछि विधेयक पेस भएको हो ।  मन्त्री बाँस्कोटाअघि सांसद राधेश्याम अधिकारीसहित सरिता प्रसाई, अनिता देवकोटा र प्रकाश पन्तका तर्फबाट विधेयकमाथि विरोध गर्नुको कारण खुलाएका थिए । उनले करिब एक दर्जन कारण खोतल्दै विधेयक फिर्ता लैजानुपर्ने बताएका थिए ।


  •  
  •  
  •