कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

145
  •  
  •  
  •  

काठमाडौं, ३ चैत(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
मंगलबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा २०७६ सालमा तीन चरणमा केन्द्रदेखि वडासम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने घोषणा गरिएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले पहिलो चरणमा वैशाख ११ बाट एक महिना, दोस्रो चरणमा भदौ २४ बाट १५ दिन र तेस्रो चरणमा पुस १६ बाट १० दिन राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने बताए ।
अभियानको नाम ‘हिमाल, पहाड, तराइ मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ राखिने प्रवक्ता शर्माले बताए ।

अभियानका महासमितिबाट पारित दस्ताबेजबारे कार्यकर्तालाइ सु–सूचित गर्ने, एकता बढोत्तरी, जागरण अभिवृद्धि, नेपाली कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धीबारे सम्प्रेषण, संविधान संशोधनबारे जनमत सिर्जना लगायतका १४ उद्देश्यहरु रहनेछन् ।

अभियान केन्द्रदेखि वडातहसम्म सञ्चालन हुनेछन्। जसअर्न्तगत काठमाडौंमाको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले र अन्य जिल्लामा केन्द्रीय प्रतिनिधिले अभियानको उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले अभियानबाट कांग्रेसका पाँच लाख क्रियाशिल सदस्य परिचालन गरिने जनाए ।

उनले भने, ‘सदस्य परिचालन हुनु भनेको पार्टीका लागि राम्रो कुरो हो । यसबाट जनता निराश हुँदैनन, जनतालाई फेरि आशा जाग्ने छ । जनतामा आशा जगाउनु राजनीतिक दलको कर्तव्य हो ।’

सो अवसरमा कांग्रेसका उपसभापती निधि, विजयकुमार गच्छ्दार, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायत उपस्थित थिए ।


  •  
  •  
  •