राष्ट्रपति चयनका लागि उम्मेदवारको मनोनयन दर्ता आज, एमालेबाट भण्डारी, कांग्रेसबाट को ?

590
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : संघीय नेपालको पहिलो राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे हाे।राष्ट्रपतिका लागि प्रमुख सत्तारुढ दल एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गरेको छ ।
राष्ट्रपतिका लागि पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनालले दाबी गरे पनि ठूलो रस्साकस्सीकाबीच स्थायी कमिटी बैठकले भण्डारीलाई नै दोहोर्‍यायाउने निर्णय गरेको हो ।

०७२ कात्तिक ११ गते गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएकी भण्डारीले अब ५ वर्ष कार्यभार सम्हाल्नु हुनेछ । पहिलो महिला राष्ट्रपति बन्नु भएकी भण्डारीलाई संघीय नेपालको पनि पहिलो राष्ट्रपति बन्ने अवसर जुर्ने भएको छ ।

राष्ट्रपतिको चुनावमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुले मतदान गर्नेछन् । यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने वा नउठाउने भन्नेबारे छलफल गर्न बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कांग्रेसले राष्ट्रपति भण्डारीलाई वाम गठबन्धनले दोहोर्‍यायाउने निर्णय गरे उम्मेदवार उठाउने जनाएको थियो । त्यसका लागि नै कांग्रेसले ९ बजे बैठक बोलाएको हो । राष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा सहमति जुटे नेता मानबहादुर विश्वकर्मालाई उठाउने कांग्रेसको तयारीे छ ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्यले मतदान गर्ने छन् । सातै प्रदेशबाट प्रदेश सांसदमा ५५० जना, प्रतिनिधिसभामा २७५ जना र राष्ट्रिय सभाका ५९ जना सदस्यहरुले राष्ट्रपति निर्वाचनमा मतदाता गर्नेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका एक सदस्यको मतभार ७९ हुनेछ ।

राष्ट्रपतिको निर्वाचनका लागि उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत तोक्ने व्यवस्था ऐनमा गरिएको छ ।

संघीय संसद्को एक सदस्यको ४८ मतभार हुनेछ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सदसस्यहरुको कुल मतभार २६ हजार ३ सय ८६ हुनेछ । यस्तै, ५५० प्रदेशसभा सदस्यहरुको कुल मतभार २६ हजार ४ सय रहनेछ । जसअनुसार जम्मा मतभार ५२ हजार ७ सय ८६ हुनेछ ।

यो मतभारमध्ये जसले ५० प्रतिशत मतभार कटाउँछ, उही उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यबस्था अनुसार, निर्वाचन आयोगले फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको   छ ।


  •  
  •  
  •