राष्ट्रपति भण्डारीले आज राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै

523
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संयुक्त राष्ट्रसंघीय आयोग ‘सीएसडब्ल्यू’ को ६३ औँ अधिवेशनलाई सम्बोधन गर्दैछिन् ।

अमेरिकाको न्यूयोर्कमा सोमबारदेखि जारी अधिवेशनका क्रममा भण्डारीले आज ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

‘नारी नेतृत्वले विश्वलाई कसरी परिवर्तन गर्न सक्छ’ भन्ने विषयमा राष्ट्रपति भण्डारीले धारणा राख्ने राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जानकारी दिएको छ ।

राष्ट्रपतिले समसामयिक विश्वका चुनौतीलाई सामना गर्न नारी नेतृत्वको महत्व र आवश्यकतामा केन्द्रीत रहेर मन्तव्य दिने बताइएको छ ।

राष्ट्रपति भण्डारीले बुधबार २०१९ मा महिलाको अवस्था परिषदको बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । अधिवेशनमा भाग लिन भण्डारी सोमबार न्यूयोर्क पुगेकी हुन् ।

भण्डारीलाई सोमबार बिहान न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राई र अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले औपचारिक रूपमा स्वागत गरेका थिए ।

नेपालका राष्ट्रपतिले औपचारिक रूपमा अमेरिकाको पाइला टेकेको पहिलो पटक हो । राष्ट्रपतिका साथ २२ सदस्यीय भ्रमणदल अमेरिका भ्रमणमा रहेको छ ।

राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १ गते स्वदेश फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •