राजनीतिसँगै संवैधानिक परिवर्तनले महिला हिंसा कम गर्न सम्भव भएको छ : राष्ट्रपति

50
  •  
  •  
  •  

न्यूयोक, २८ फागुन(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक र कानूनी व्यवस्था भएकै कारण, गणतन्त्र स्थापनाको छोटो अवधिमै नेपालले महत्वपूर्ण फड्को मार्न सफल भएको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघीय महिलाको अवस्था सम्बन्धी आयोगको ६३ औं अधिवेशनको ‘वुमन इन पावर’ उच्चस्तरीय सम्मेलनमा आफ्नो अनुभवसहित निष्कर्ष सुनाउँदै राष्ट्रपति भण्डारीले महिला प्रतिनिधित्वको सवालमा सामान्य सुधार गर्दा मात्रै अप्राकृतिक भेदभावलाई सच्याउन सकिन्छ भन्ने उदाहरण नेपालबाट सिक्न सकिने बताइन् ।
केही प्रावधान सच्याउँदा मात्रै ठूलो उपलब्धी हासिल भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘निष्कर्षमा भन्नुपर्दा महिला प्रतिनिधित्वको सवालमा संरचना परिवर्तनमै दख्खल दिनुपर्छ ।’

राज्यका विभिन्न अङ्गमा महिला प्रतिनिधित्व ‘अनिवार्य एक तिहाई’ हुनुपर्ने संवैधानिक व्यवस्थाले संघीय संसदमा ३३.५ प्रतिशत, प्रदेशसभाहरूमा ३४.५ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला पदाधिकारीहरू निर्वाचित भएको जानकारी राष्ट्रपति भण्डारीले जानकारी गराएकी थिइन् ।

भण्डारीले नेपालमा महिलाको अवस्थामा आएको सुधारबारे जानकारी गराउँदै युएनको सम्बन्धी उच्चस्तरीय सम्मेलनमा नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा सहभागी हुन पाउँदा आफूले गौरव महशुस गरेको बताइन् ।

कार्यक्रममा आफ्ना अभिप्रेरणाका कथाका विषयमा सोधिएको एक प्रश्नमा राष्ट्रपति भण्डारीले आफू निकै दुर्गम गाउँमा जन्मेको र उक्त ठाउँमा सबैले पढ्ने, उपचार गर्ने र वर्षभरि खान पाउने अवस्था नभएको बताउँदै सबै जनताले पढ्न, खान र उपचार गर्न पाउनुपर्छ भनेर नै आफू युवावस्थादेखि नै राजनीतिक परिवर्तनको कार्यमा लागेको बताएकी थिइन् ।

उनले आफ्ना बुबा गाउँको पढेलेखेको र माध्यमिक विद्यालयका प्रधानाध्यापक भए पनि उनको उपचार नभई निधन भएको बताउँदै त्यसैले पनि आफूलाई राजनीतिमा लाग्न प्रेरणा दिएको बताइन् ।

(तस्बिर : अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको फेसबुकबाट)

यो पनि हेर्नुहोस्

राष्ट्रपति भण्डारीले राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै

राष्ट्रपति भण्डारी न्यूयोर्क जाँदै

 


  •  
  •  
  •