काठमाडौं १२ माघ (ओएनएस) : आइतबार विपक्षी मोर्चाका संयोजक एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता बाबुराम भट्टराई राष्ट्रपति कार्यालय शीतलनिवास गए । संविधानभामा प्रश्नावली समिति गठनको टुंगो लाग्ने निश्चित भएपछि विपक्षीले सहमतिका लागि १० दिनको समय मागेको र पेलेर जान खोजे संविधानसभा बैठक नै बहिष्कार गर्ने चेतावनी दिएको खबर सार्वजनिक भएपछि राष्ट्रपति रामवरण यादवले एमाओवादी नेताद्वयलाई छलफलका लागि बोलाएका थिए ।
शीतलनिवासमा एमाओवादी नेताले कम्तीमा सात दिनको समय सहमतिका लागि दिनुपर्ने र तत्काल संविधानसभाको प्रक्रिया रोक्नुपर्ने माग राष्ट्रपतिसामु राखेका थिए । विपक्षीका कुरा सुनिसकेपछि राष्ट्रपति यादवले आफ्नै मोबाइलबाट तत्काल एमाले अध्यक्ष केपी ओलीलाई फोन गरे । तर, ओलीले फोन उठाएनन् । केहीबेरपछि ओलीको सट्टामा उपाध्यक्ष विद्या भण्डारीले फोन (कल ब्याक) फर्काइन्, ‘फोन गर्नुभएको रहेछ । किन होला ?’ राष्ट्रपतिले भण्डारीमार्फत् सन्देश पठाए । तर, ओली शीतलनिवास गएनन् ।
त्यसपछि राष्ट्रपति यादवले नै प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोनमार्फत् सोही कुरा दोहो¥याए । तर, कोइराला पनि न राष्ट्रपतिलाई भेट्न गए, न त एमाओवादी नेताको आग्रहअनुसार संविधानसभाको प्रक्रिया सात दिन रोक्न तयार भए । स्रोतका अनुसार, एमाओवादी नेताहरूलाई संविधानसभा नछाड्न आग्रह गर्दै उनीहरुको माग सम्बोधन गर्न भूमिका खेल्ने आश्वासन राष्ट्रपति यादवले दिएका थिए । तर, सत्ता पक्षका नेताहरूले कुरै सुन्न तयार नभएपछि राष्ट्रपतिको प्रयास समेत विफल भएको थियो ।