रेशम चौधरीलाई जन्मकैद फैसलाविरुद्व जनतासमक्ष जान्छौं : अध्यक्ष महतो

320
  •  
  •  
  •  

विराटनगर, २३ फागुन(ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने माग राखेका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासमक्ष जाने बताए ।

अध्यक्ष मण्डलका सदस्य महतोले अहिलेको संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको बताए ।

समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र शुरु गर्ने उनको भनाइ छ ।

अर्का अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले सांसदलाई फौज्दारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने बताए । उनले मधेश आन्दोलन र थारूहट आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेमा सबै सत्यतपथ्य जनताले थाहा पाउने बताए ।

बुधबार जिल्ला जिल्ला अदालत कैलालीले टिकापुर घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।


  •  
  •  
  •