हिउँले सेताम्य रारा (फोटो फिचर)

132
  •  
  •  
  •  

पुस २५ मुगु(ओएनएस) : चारैतिर मनमोहक हिमाल, वरिपरि हरियाली जंगल, बिचमा सुन्दर ताल रारा । महेन्द्र तालका रुपमा परिचित रारा ताल यति बेला हिउँले सेताम्य छ ।

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा हिउँले ढाकेर सेताम्य देखिन्छ । आइतबारदेखि परेको हिउँले ढाकिएपछि यो तालले पर्यटकको मनै लोभ्याएको छ ।

रारा वरपर आन्तरिक पर्यटक हिउँमा रमाउने, फोटो खिच्ने हिउँसँग लुकामारी गर्ने गरेका छन् । रारा साच्चिकै धर्तिको स्वर्ग हो । रारा तालले दिनमा निकै चोटी रंग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । त्यही रंगफेर्ने रारातालको पानी कोनीको रंगमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया ।
अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ ।

काठमाडौंबाट पहिलो पटक रारा ताल घुम्न आएका विशाल हमालले पनि यस्तै अनुभव गरेको बताउँछन् ।
मुगु सदरमुकाम गमगडीको पश्चिमपट्टि १० किमि लम्बाई र ३ किमि चौडाईमा फैलिएको १ सय ६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु संख्या आजभोली बढेका छन् ।

२०६९ साल पुस १ गते सडक उद्घाटन भएपछि सदरमुकाम गमगडीसँग जोडिएको रारामा यसको एक वर्षपछि नियमित रुपमा गाडी चल्न थाल्यो ।

त्यसयता रारा आउनेलाई सजिलो भएको छ । ‘रारा पुग्नेहरु सदरमुकाम गमगढी पनि झर्छन् । रारामा पर्यटक बढे, स्थानीय व्यवसायीको आम्दानी पनि बढ्यो,’ बुद्ध गेष्ट हाउस गमगढीका सञ्चालक मनमान बुढा बताउँछन् ।

मुगु सदरमुकाम गमगढीबजारको तल्लो बजारमा कोशेली घर छ । कोशेली घरमा मुगुमा उत्पादन भएका स्थानीय बाली, चिनो, कागनो, फापर, सिमी, मार्से लगायत स्थानीय स्तरका लत्ता कपडा पाईन्छन् । छायाँनाथ रारा नगरपालिका वडा नं १ की चेतना शाहीले २०७१ सालमा राराबाट फर्किने पर्यटकका लागि भनेर यो कोशेली घर खोलेकी हुन् ।

चेतनाले कोशेलीघरमा स्थानीय स्तरमा उत्पादन भएका सामान खरीद गरि बेच्दै आएकी छन् ।
‘कोशेली घरले स्थानीय किसानको खर्च धानेको छन् । पर्यटकलाई राराको सुन्दरताले लोभ्याएर मुगुसम्म पु¥याउँछ,’ उनले भनिन् । मुगुका उत्पादनहरु चिनो ठानेर किनेर लैजान्छन् । तर रारा पुग्नेहरुका लागि पर्यटकीय व्यवस्थापन अपुग भएको पर्यटकको गुनासो छ ।

 

अचेल मुगुको रारामा वर्षको लाखौँ देशभित्र र बाहिरका पर्यटक घुम्न जान्छन् । पर्यटक बढे यता मुगुको आम्दानी वार्षिक ४० प्रतिशतले बढेको छ । पहिले पहिले मुगुको गरिबीको मात्र प्रचार गरिन्थ्यो । अचेल पर्यटक प्रवद्र्धन गरेर मुगुको विकास गर्न सकिन्छ भन्ने बहस हुन थालेको छ ।


  •  
  •  
  •