जुम्ला–रारा अल्ट्रा म्याराथन भदौ २९ मा

68
  •  
  •  
  •  

जुम्ला । दोस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन आगामी भदौ २९ गते हुने भएको छ  । कर्णालीमा खेलकुद पर्यटन प्रवद्र्धनका लागि म्याराथनको आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताका लागि गत आइतबार प्रचारमूलक दौड समेत आयोजना गरिएको थियो ।
दौडमा १ सय १० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

आयोजक कर्णाली स्पोर्टस क्लबका अध्यक्ष सरोज शाहीका अनुसार ३० जना खेलाडीहरु रारासम्म पुगेका थिए ।
पर्यटन वर्षलाई समेत टेवा पुर्याउने गरी प्रतियोगिता गर्न लागिएको शाहीको भनाइ छ । उनले अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता हुने अपेक्षा रहेको बताए ।

उनले म्याराथनमा ५ सय बढी खेलाडीलाई सहभागी गराउने योजना रहेको बताए । कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रलाई विश्वमा पहिचान गराउन र खेल पर्यटन प्रवद्र्धन गर्न गत वर्षदेखि अल्ट्रा म्याराथनको आयोजना गरिएको हो ।

प्रतियोगितामा गत वर्ष राष्ट्रिय तथा स्थानीय गरी ३ सय २० खेलाडी सहभागी थिए । जसमध्ये ७२ जनाले म्याराथन पूरा गरेको क्लबले जनाएको छ ।

जुम्ला सदरमुकामको चन्दननाथ मन्दिरबाट शुरु गरिने ४९ किलोमिटर दौडमा विजेता १० घण्टामा ‘मिट प्वाइन्ट’ मा पुगिसक्नुपर्नेछ । म्याराथनको रुट जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाइ हुँदै डाँफेलेक, न्याउरी, चौथा, चुचेमारा, मिलीचौर हुँदै मुगुको हुटुलेक भएर राराताल तोकिएको अध्यक्ष शाहीले बताए ।


  •  
  •  
  •